मंसिर १४, २०८१ शुक्रबार

प्रधानन्यायाधीश पत्नी बसन्ताको गुनासो-व्यक्तिगत जीवनमा चोट पर्यो !



काठमाडौं-डा.गोविन्द केसी भर्सेस सर्वोच्च अदालतको द्वन्द्व सतहमा आएपछि सामाजिक सञ्जालमा प्रधानन्यायाधीश गोपाल पराजुलीका चारवटी श्रीमतीहरु रहेको चर्चा एकाएक ‘भाइरल’ भयो । सामाजिक सञ्जाल र केही अनलाइनमा समेत आएका यस्ता समाचारप्रति प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ता पराजुली पनि बेखर रहिनन् ।

प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ताले आफूहरुमाथि नितान्त व्यक्तिगत, चारित्रिक एवं नितान्त पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको भन्दै गुनासो पोखेकी छिन् । तर, यस्ता आरोपहरुबाट अविचलित भई आफ्नो प्यारो परिवार ईश्वरका कृपाले सम्हालिएको बसन्ताले बताएकी छिन् ।

वियोगान्त सिलसिला

प्रधानन्यायाधीश पराजुलीको व्यक्तिगत एवं पारिवारिक कथाको श्रृंखला वियोगान्त छ । पहिले राजनीति, त्यससँगै कानून व्यवसाय र पछि न्यायाधीश बनेका पराजुलीले यौवनावस्थामा सम्भ्रान्त परिवारकी श्रीमती ल्याएका थिए । यसवीचमा उनी जेलसमेत परे । त्यससँगै उच्च घरानाको ज्वाइँ बन्ने पराजुलीको चाहना वीचैमा छुट्यो ।

उमेर छँदै पत्नीले छाडेर गएपछि विवाह नगरी बस्ने कुरै भएन । पराजुलीले दोस्रो विवाह गरे । तर, उनको दोस्रो घरजम पनि टिकेन । उनकी पत्नीलाई ब्लड क्यान्सर भयो र उनी बितिन् ।

पत्नी वियोगबाट त्राण पाउनका लागि पराजुलीले तेस्रो विवाह गरे । तर, त्यो घरजम पनि एउटा वियोगान्त त्रासदीमा परिणत भयो । पराजुलीकी तेस्री श्रीमतीको दुर्घटनामा परेर निधन भयो । यही घटनालाई कतिपय पत्रिकाले ‘पराजुलीले श्रीमती मार्‍यो’ भनेर लेखेको गुनासो पराजुली परिवारको छ ।

‘पत्नी वियोगको कुरा गर्दा उहाँ भावुक बन्नुहुन्छ,’ पारिवारिक स्रोत भन्छ, ‘तर, यस्तो पीडादायी व्यक्तिगत भोगाइलाई सामाजिक सञ्जालमा पराजुलीको अपराधका रुपमा चित्रण गर्दा परिवारका अन्य सदस्यहरुको समेत चित्त दुखेको छ, श्रीमती बसन्ता त लगभग विक्षिप्तजस्तै बन्नुभएकोछ ।’

प्रधानन्याधीश पराजुलीसँग सपरिवार बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी बसन्ताको माइत दाङ हो । उनी पराजुलीसँग विवाह हुँदा युएनडीपीमा जागिर खाँदै थिइन् ।

प्रधानन्यायाधीश पराजुली हुनेखाने परिवारकै सदस्य हुन् । तनहुँ जिल्लाको काउँ शिवपुर(५ मा ज्योतिष एकदेव पराजुली र नन्दकुमारी पराजुलीको कोखबाट जन्मेका उनले दूर्गा चण्डी कवचबाट शिक्षा लिन सुरु गरे । ०१६ सालमा गाउँमा स्कुल आउँछ भन्ने चर्चा भए पनि आएन । भनीडाँडा भन्ने ठाउँमा रुखमुनि बसेर पढेका उनी पछि नवलपरासीमा बसाई सरे ।

पराजुली ०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रंवेश गरेका हुन् । नवलपरासीबाट १२ वर्ष कानून व्यवसाय गरेका उनले ६ सय मुद्दा हेरेको र ६ वटासम्म लिगल एडभाइजरी गरेको बताउने गरेका छन् । यही क्रममा आफूले राजधानीमा घरजग्गा जोडेको उनको भनाइ छ ।

०४८ साल असार ५ गते भयंकर दुर्घटनामा परेर टिचिङ अस्पतालमा उपचार भएको र त्यसको ४ महिनापछि पाटन पुनरावेदन अदालतमा पहिलो पोष्टिङ भएको उनको रेकर्ड छ ।

कानूनमा बीएल र समाजशास्त्रमा एमए गरेका पराजुलीको वायोडाटा अनुसार उनले सन् १९७९ देखि १९९१ सम्म नवलपरासीमा आधारित रहेर वकालत गरे । सन् १९९१ देखि २०१० सम्म विभिन्न अदालतहरुमा पुनरावेदन अदालतको न्यायाधीशका रुपमा काम गरे । सन् २०१० देखि २०१४ सम्म पुनरावेदन अदालतको मुख्य न्यायाधीश चलाए ।

पराजुली सन् २०१४ देखि २०१७ जूनसम्म सर्वोच्च अदालतको न्यायाधीश भए । र, करिब महिना कार्यवाहक प्रधानन्यायाधीश चलाएपछि उनी २०१७ जुलाई १७ देखि प्रधानन्यायाधीश पदमा कार्यरत छन् ।

‘चार श्रीमती प्रकरण’ भवितव्य हो बदनियत ?

प्रधानन्यायाधीश गोपाल पराजुलीले चारवटा बिहे गरेको विषयलाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाइएपछि हामीले यसबारे केही विज्ञहरुसँग चासो राखेका छौं ।

एउटा परिवार असफल भएपछि वैधानिक रुपमा अर्को विवाह गर्ने प्रचलनलाई आधुनिक समाजमा गलत मानिँदैन । जस्तो( हास्य कलाकार हरिवंश आचार्य र साहित्यकार कृष्ण धराबासीले दोस्रो विवाह गरेको विषयलाई नेपाली समाजले नकारेको छैन ।

यसका साथै आपसमा सम्बन्ध बिग्रिएपछि गरिने छोडपत्रलाई पनि नेपाली समाजले सहज रुपमा लिन थालिसकेको छ । भर्खरै हास्य कलाकार मनोज गजुरेलले श्रीमतीसँग छोडपत्र गरेका छन् । डा। रेणुराज भण्डारी र नेतृ शान्ता चौधरीले पनि छोडपत्र गरेका छन् ।

तर, के प्रधानन्यायाधीश गोपाल पराजुलीले चाहिँ नैतिकरुपमा प्रश्न उठाउनुपर्ने गरी विबाह र पारपाचुके गरेका हुन् रु यो बहस गोविन्द केसीको मुद्दासँगसँगै सामाजिक बहसको विषय बनेकै छ । सार्वजनिक ओहोदामा रहेका व्यक्तिको पारिवारिक पृष्ठभूमि अहिले सामाजिक सञ्जालमा छाएको अवस्था छ ।

यस सन्दर्भमा अब प्रधानन्याधीश पराजुलीको वियोगान्त वैवाहिक पाटोलाई बसन्ता पराजुलीले भनेजस्तै नितान्त वैयक्तिक एवं पारिवारिक मामिला मात्रै मान्ने वा सार्वजनिक आलोचनाको विषय बनाउने ?  यसबारे अन्तरराष्ट्रिय ‘मिडिया प्राक्टिस’ के छ ?

 विवाहसम्बन्धी प्रश्नले प्रधानन्यायाधीशलाई फाइदै हुन्छ

उत्त्मबाबु श्रेष्ठ
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको कार्लाब्रुनीसँगको प्रेम सम्वन्ध सार्वजनिक भएपछि उनको लोकप्रियता घट्यो । तर, उनीहरुले बिहे गरे अनि बच्चा जन्मिएपछि फेरि लोकप्रियता बढ्यो

उच्च सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरुको व्यक्तिगत विवरण मिडियाले सार्वजनिक गर्न मिल्छ वा मिल्दैन भन्ने कुराको जवाफ हुन्छ र हुँदैनमा खोज्न सकिँदैन । मेरो विचारमा त्यो परिस्थिति अनुसार हुन्छ ।

सामान्यदेखि उच्च ओहदामा बसेका व्यक्तिहरुको आचरण सम्वन्धी कानुनी र नैतिक प्रश्नहरु हुन्छन् । जबसम्म उच्च ओहदाका व्यक्तिगत आचरण कानुनीरुपमा जायज मानिन्छ, तबसम्म त्यसलाई मिडियाले सम्मान गर्नपर्दछ भन्ने मत छ ।

त्यस्ता व्यक्तिहरुको कार्यसम्पादन हेर्नु पर्दछ, न कि उसको वैयक्तिक चरित्र भन्ने तर्क पनि गरिन्छ । तर, व्यक्तिको चरित्र वा आचरणले धेरथोर कार्यसम्पादनमा असर पार्ने हुनाले त्यो कुरा सार्वजनिक हुनुपर्दछ भन्ने लाग्दछ ।

कतिपय कुरा कानुनीरुपमा जायज हुँदाहुँदै पनि नैतिक रुपमा जायज नहुन सक्छ । समाजमा प्रचलित नैतिकताको कसीमा जायज नठहरिन पनि सक्छ । अझ सार्वजनिक उच्च ओहदामा बसेका मानिसहरुलाई समाजमा उदाहरणीय व्यक्तिका रुपमा समेत हेरिने हुनाले उनीहरुमा उच्च नैतिकता भएको देख्न चाहनु स्वाभाविक हो ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको कार्लाब्रुनीसँगको प्रेम सम्वन्ध सार्वजनिक भएपछि उनको लोकप्रियता घट्यो । तर, उनीहरुले बिहे गरे अनि बच्चा जन्मिएपछि फेरि लोकप्रियता बढ्यो । त्यसकारण यस्ता घटनाका बहुआयामहरु हुन्छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको पनि बहुविवाहका आयामहरु सतहीरुपमा चारवटा बिहे गरेको भन्ने भनिएता पनि गहिरिएर हेर्दा त्यसमा कानुनी र नैतिकरुपमा प्रश्न उठ्नुपर्ने देखिन्न । तर, त्यस्ता प्रश्नहरु उठ्नु नराम्रो होइन । त्यसले उच्च ओहदाका मान्छेहरुलाई फाइदा नै गर्छजस्तो लाग्छ, निकोलस सार्कोजीलाई जस्तै जब विस्तृत घटनाहरु सार्वजनिक हुन्छन् ।

ट्रम्प तेस्री श्रीमतीसँग छन्, सामाजिक प्रतिष्ठाको विषय बन्दैन

भानुभक्त आचार्य
२०७१ जेठ ९ गते शुक्रबार दिउँसो सर्वोच्च अदालतमा सिफारिस गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ८ जना न्यायाधीशहरुलाई संसदीय सुनुवाइमा बोलाइएको थियो ।

त्यसबेला तत्कालीन व्यवस्थापिका(संसदका सभासदहरु आरजू राणा देउवा, एकनाथ ढकाल, कृपाराम राना, लक्ष्मणलाल कर्ण, भानुभक्त ढकालले सोधेका थिए( तपाईले कुन कानुनका आधारमा चार(चारवटी बिहे गर्नुभो, तपाई पोलिगामी कि मनोगामी रु चारवटा श्रीमती भएको व्यक्तिले महिलालाई कसरी सम्मान गर्न सक्छ रु चारवटा श्रीमती ल्याएर लैंगिक न्याय कसरी भयो ?

त्यसबेला २१ वटा आरोपहरुको सामना गरेका पराजुलीले दिएको उत्तरलाई भन्दा अलि होच्याउने किसिमले सोधिएका प्रश्नहरुप्रति मिडियाले बढी चासो राखे । र, त्यसैअनुसार समाचार प्रकाशनरप्रसारण भए ।

युरोप र अमेरिकामा बहुविवाहको मुद्दा खासै सुनिँदैन । डोनाल्ड ट्रम्प अहिले तेस्रो श्रीमतीसँग छन्, जबकि अघिल्ला दुईले छोडपत्र गरिसके । यस्तो कुरा त्यहाँ सामाजिक प्रतिष्ठाको विषय बन्दैन

मैले पनि गुगलमा तत्कालीन संसदीय सुनुवाइमा प्रधानन्यायाधीशले के भनेछन् भनेर खोजें । तर, प्रश्नहरु मात्रै भेटिए ।प्रधानन्यायाधीशको उम्मेदवारलाई अन्तिम टुंगो लगाउन गरिएको संसदीय सुनुवाइ जस्तो गहन छानविनमा संलग्न सभासदहरुले समेत गोपाल पराजुलीको व्यक्तिगत विवरण थाहा नपाउनु भनेको सामान्य कुरा होइन ।

वास्तवमा पराजुलीका चारवटा श्रीमती भएको कुरा सत्य नै रहेछ । पहिलो सानो उमेरमै विवाह गरेको र छुटेको, द्रोस्रो श्रीमती क्यान्सर रोगले मृत्यु भएको, तेस्रो श्रीमती गाडी दुर्घटनामा पनि छोरासहित मृत्यु भएको र त्यसपछि बिहे गरेको चौथो श्रीमती जोसँग पराजुलीको दाम्पत्य जीवन चलिरहेको छ ।

तर, मिडियामा गोपाल पराजुलीका चारवटी श्रीमती भन्ने भाषाको प्रयोग भ्रामक र पूर्वाग्रही छ । तथ्यगतरुपमा पराजुलीका समयक्रममा चारवटी श्रीमती थिए । तर, एकमाथि अर्को थोपरेर बहुविवाह गरेको चाहिँ होइन । यो कुरालाई मिडियाले जनमानसमा प्रष्ट्याउन सकेन ।

वैवाहिक जीवनसम्बन्धी प्रश्नमा पराजुलीले दिएको उत्तर प्रष्ट प्रकाशनरप्रसारण भएको भए अथवा उनीसँग यस विषयमा स्पष्ट जानकारी लिएर समाचार प्रकाशनरप्रसारण गरेको भए अहिले चार श्रीमतीको श्रीमान भनेर आक्षेप लगाउने वा सामाजिक सञ्जालहरुमा टिप्पणी हुने अवस्था आउने थिएन ।

नेपाली मिडियाले विभिन्न समयमा तथ्यहरुलाई पूर्वाग्रही ढंगले, अझ भनौं मसलेदार बनाएर पाठकलाई पस्केका धेरै उदाहरणहरु पाइन्छन् ।

०४७ सालमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराई सार्क शिखर सम्मेलनका क्रममा माल्दिभ्सको राजधानी माले जानुपर्ने थियो । त्यसबेलाका चर्चित साप्ताहिकहरुले ‘प्रधानमन्त्री भट्टराई मालेमा’ वा ‘कांग्रेस अध्यक्ष मालेमा’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरे । त्यसबेला मदन भण्डारी, सीपी मैनालीहरु भएको नेकपा माले चर्चित पार्टी थियो ।

समाचारका कारणले धेरै मानिसहरु नेपाली कांग्रेसको अध्यक्ष नै माले पार्टीमा गएछन् भनेर भ्रमित भए । बहुदलीय व्यवस्थाको पुनर्वहाली हुनेबित्तिकै चुनावलाई लक्षित गरेर मिडियामा गरिएको गज्जब प्रोपगन्डा थियो त्यो ।

‘प्रधानन्यायाधीश गोपाल पराजुलीका चार श्रीमती’ भन्ने चर्चा पनि त्यस्तै प्रोपोगाण्डा हो, जसले अहिले जुनजुन अनलाइन वा समाचार माध्यम डा। गोविन्द केसीको पक्षमा आँचा चिम्लेर लागे वा गोपाल पराजुलीले राम्रै काम गर्दा पनि पूर्वाग्रही भएर विरोध गरिरहे, तिनले चार श्रीमती भएको तथ्यलाई पूर्वाग्रही ढंगले प्रस्तुत गरे ।

खासमा यो व्यक्तिको गालीबेइज्जती वा मानहानीसम्बन्धी विषय हो । यस्तो कुरालाई नेपालको संविधान, कानुन, पत्रकारिता आचारसंहिता आदि सबैले बर्जित गरेका छन् ।

विदेशतिर व्यक्तिगत चरित्रले उसको पेशागत जीवनमा ठूलो प्रभाव राख्छ । नैतिकताको आधारमा राजीनामा दिने कुराहरु आउँछ । तर, चरित्र हत्या भएको कुरा अदालतले प्रमाणित गरेमा पीडितले लाखौं(करोडौं क्षतिपूर्ति पाउने सम्भावना पनि हुन्छ ।

तर, सार्वजनिक जीवनमा र्फकंदा फेरि पहिलेकै जस्तो सहज अवस्था नरहन पनि सक्छ । त्यसैले आरोप लागेका मानिसहरु सार्वजनिक जीवनबाट हराउने वा पेसा परिवर्तन गर्ने गर्दछन् ।

प्रधानन्यायाधीश पराजुली नेपालका सबैले चासो राख्ने सार्वजनिक व्यक्तित्व हो । उनको व्यक्तिगत चरित्र र व्यवहारले न्यायसम्पादनमा मात्रै होइन, नेपाली सामाजिक जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्छ । मिडियामा अफवाह फैलँदा उहाँ चूप बस्नु हुन्थेन

सन् १९९८ मा सार्वजनिक भएको मोनिका लेवेन्स्की प्रकरणमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले झन्डैझन्डै अमेरिकी कांग्रेसमा महाभियोगको सामना गर्नु परेको थियो । ९० हजार डलर जरिवाना तिरेर कानुनी रुपमा टुंगिएको त्यो मुद्दाले अहिले पनि सार्वजनिक जीवनमा क्लिन्टनलाई असर गरिरहेको छ ।

युरोप र अमेरिकामा बहुविवाहको मुद्दा खासै सुनिँदैन किनभने अर्को व्यक्तिसँग अफेयर चलेको प्रमाण पाउनेवित्तिकै पहिलोले डिभोर्स गर्छ । डोनाल्ड ट्रम्प अहिले तेस्रो श्रीमतीसँग छन्, जबकि अघिल्ला दुईले छोडपत्र गरिसके । यस्तो कुरा त्यहाँ सामाजिक प्रतिष्ठाको विषय बन्दैन ।

नेपालमा भने कुनै पुरुषले दोस्री श्रीमती ल्याएमा पहिलो श्रीमतीलाई पनि आश्रय र मानाचमलको हिसाब(किताब गरे दुईटै श्रीमती राख्न पाउने कानून छ । सरकारी कर्मचारीहरुको हकमा जागिर जाने सम्भावना हुन्छ ।

तर, एउटी श्रीमती मात्रै राख्न बाध्य पार्ने कानून हामीकहाँ छैन । वर्तमान कानुन परिवर्तन नहुँदासम्म यो क्रम चलिरहन्छ । साथै, विगतमा दुई वा तीन वा अझ बढी श्रीमती राखेकाहरुका लागि नयाँ कानून आएछ भने पनि त्यो भूतप्रभावी हुन सक्दैन ।

गएको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका वा चुनाव नै जितेका बहुविवाह गरेका जनप्रतिनिधिहरुको किस्सा पनि हामीले मिडियामा सुन्यौं, पढ्यौं । ‘मर्दका सातवटी’ भन्ने पुरानो उखान हाम्रो समाजमा अझै ज्यूँदै छ । श्रीमती वा श्रीमानले छाडेर बेपत्ता हुने वा कुनै एकको मृत्यु भएकाले पुनः विवाह गर्नु भनेको स्वाभाविक कुरा हो ।

गोपाल पराजुलीको जीवनमा भएको चार श्रीमतीको घटनाक्रमलाई हाम्रा कतिपय सञ्चारमाध्यमले कुरै नबुझी उनको चरित्र धमिल्याउन प्रयोग गरे । अनि सञ्चारमाध्यममा आइसकेपछि सर्वसाधारणले त्यसैका आधारमा धारणा बनाउनु स्वाभाविकै हो ।

चार श्रीमती प्रकरणलाई प्रष्ट पार्न नसक्नु र मिडियामा अफवाह फैलनुमा स्वयम पराजुली पनि थोरबहुत जिम्मेवार देखिन्छन् । आफ्नो परिस्थितिबारे संसदीय सुनुवाइका बेला खुलस्त ढंगले भन्नुपथ्र्यो । कसरी भन्नुभो, त्यो थाहा भएन ।

केही मिडियाले प्रस्तावित प्रधानन्यायाधीशका चार श्रीमती भनेर बजार तताउने गरी समाचार प्रकाशन गरे । त्यसपछि पनि उनले प्रेस विज्ञप्ति निकालेर वा सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो यथार्थ स्थिति सार्वजनिक गर्नुपथ्र्यो । तर, त्यसो हुन सकेन । तब चार(श्रीमतीको किस्सा अहिलेको अवस्थासम्म आइपुग्यो ।

प्रधानन्यायाधीश पराजुली नेपालका सबैले चासो राख्ने सार्वजनिक व्यक्तित्व हो । उनको व्यक्तिगत चरित्र र व्यवहारले न्यायसम्पादनमा मात्रै होइन, नेपाली सामाजिक जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्छ । मिडियामा अफवाह फैलँदा उहाँ चूप बस्नु हुन्थेन ।

अब के गर्ने ? 

जानाजान बुझपचाएर व्यक्तिको चरित्र हत्या गर्ने नियतले प्रकाशित समाचार खोजेर त्यसमा संलग्न सञ्चारमाध्यम र पत्रकार पहिचान गरेर मानहानीको मुद्दा हाल्ने र समग्र नेपाली मिडियालाई पूर्वाग्रही समाचारको मूल्य के हुन्छ भनेर सिकाउने । यो नै विधिसम्मत अन्तिम विकल्प हो ।

नेपालका पत्रकारहरु वा सञ्चार संस्थाले गरेका कतिपय गैरकानुनी वा पेसागत आचरण बाहिरका कुरामा मुद्दा परे पनि अदालतले पत्रकारकै पक्षमा फैसला गर्ने वा पत्रकारलाई ज्यादै नगन्य जरिवाना गर्ने परिपाटी छ

पत्रपत्रिकामा भूलसुधार प्रकाशन गरेर व्यक्तिको मर्यादामा पुगेको क्षतिको क्षतिपूर्ति हुँदैन । भारतमा टाइम्स नाउ टीभीको अनलाइन संस्करणमा भूलवश भारतका सर्वोच्च अदालतका न्यायाधीशको तस्बीर पर्न गएको विषयमा मुद्दा चल्दा अदालतले टेलिभिजनलाई एक अर्ब क्षतिपूर्ति भराउन आदेश दिएको कुरा यहाँ सान्दर्भिक हुन्छ ।

तर, नेपालका पत्रकारहरु वा सञ्चार संस्थाले गरेका कतिपय गैरकानुनी वा पेसागत आचरण बाहिरका कुरामा मुद्दा परे पनि अदालतले पत्रकारकै पक्षमा फैसला गर्ने वा पत्रकारलाई ज्यादै नगन्य जरिवाना गर्ने परिपाटी छ ।

किनभने न्यायाधीशहरु पनि पत्रकारहरुलाई हात लिन र भविष्यमा मिडियाबाट हुन सक्ने आलोचनाबाट बच्न चाहन्छन् । अदालतका न्यायमूर्तिहरुलाई पनि मिडियामा चर्चित र महान भनिन मन छ । यस्तो प्रवृत्ति हामी सबैका लागि दुर्भाग्य हो ।

कानुन बाध्यकारी हुन्छ । मिडियाले गल्ती गर्दा कानुनबमोजिम कारबाही गर्न अदालत हिच्किचाउँदा पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको दुरुपयोग हुने सम्भावना रहन्छ । अनलार्इनखवरबाट