काठमाडौं – निजामति कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको जनाउँदै समायोजन संशोधन गर्न माग गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो सम्बोधन सहयोगी कक्षमा कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेका निवेदन दर्ता गराएका हुन् ।
मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधन गर्न स्थापना गरेको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनको माग गर्दै कर्मचारीको गुनासोको चाङ लागेको छ ।
मन्त्रालयले समायोजन भएका कर्मचारीलाई गुनासो सम्बोधनका लागि सहयोगी कक्ष बनाएपछि त्यस्ता गुनासा दैनिक दुई सय दर्ता हुने गरेका छन् ।
गुनासो सुनवाइ समितिका संयोजक तथा मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले अहिलेसम्म तीन हजार १४२ भन्दा बढी निवेदन दर्ता भएका जानकारी गराए ।
उनका अनुसार समायोजन भएका कर्मचारीले तीनै तहमा हेरफेर तथा संशोधन गर्न, स्थायी ठेगानाबमोजिम समायोजन भएन जस्ता गुनासा दर्ता गराएका छन् ।
समितिका संयोजक भट्टराईले आएका गुनासालाई कर्मचारी समायोजन ऐन–२०७५ अनुसार सम्बोधन गरिने बताए । मन्त्रालयले आएका गुनासालाई सेवा समूह हेरेर विभिन्न समूहमा वर्गीकरण गरेर अध्ययन गर्नेछ । मन्त्रालयले वर्गीकरण गरिएका गुनासालाई अध्ययन गर्न ११ कार्यदल गठन गरेको उनले जानकारी दिए ।
कार्यदलले अध्ययन गरेर आवश्यक गुनासालाई सम्बोधन गर्न सिफारिश गर्नेछ । “पहिले समायोजन हुँदा भरेको फारमको आधारका ती गुनासोलाई कार्यदलले अध्ययन गर्नेछ”, उनले भने “अध्ययन गर्दा फाराम भरेको आधारमा समायोजन नभए मात्र संशोधन गरिनेछ ।”
कार्यदलले सुनुवाइ समितिमा सिफारिश गर्ने र उक्त समितिले ऐनअनुसार भए/नभएको हेर्नेछ । सुनुवाइ समितिले कानूनबमोजिम समायोजन भएका कर्मचारीलाई संशोधन आवश्यक भए सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको संयोजकत्वमा गठित समायोजन निर्देशन समितिलाई सिफारिश गर्नेछ ।
उनका अनुसार कानूनबमोजिम कम मात्र गुनासो सम्बोधन गर्ने खालका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार गत पुस ११ देखि माघ २ गतेसम्म समायोजनका लागि कर्मचारीलाई तीनै तह रोज्न निवेदन आह्वान गरेको थियो ।
अहिलेसम्म समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये करीब ५७ हजार कर्मचारी समायोजन गरिएको छ । सरकारलेसङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी दरबन्दी स्वीकृत गर्दै समायोजन गर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्