वित्त, सूचना र प्रविधिमा महिलाको पहुँच नभएसम्म मुलुकको विकास अपूर्ण हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको आयोजनामा भएको बेविनार कार्यक्रममा नवीनतम प्रविधि र ऊर्जाको पहुँचले महिलाको समयमा वचत, कायमको गुणस्तरियता र सहजता हुने भएकाले महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिका महत्वपूर्ण हुने बक्ताहरुले बताए।
कार्यक्रममा मानुषी संस्थाकी संयोजक विद्या ब्रजाचार्यले गरिबी, आर्थिक स्रोतमा पहुँचको अभाव र श्रमको असमान वर्गीकरणले गर्दा महिलाको वित्तीय समावेशीता हुन नसकेकाले आर्थिक विकास र गरिवी निवारणका प्रयासहरु सफल हुन नसकेको बताइन् ।
मानुषीले महिलालाई हस्तकला, व्यवसाय र वित्तीय व्यवस्थापन, लघुकर्जाबाट विपन्न, पिछडिएका महिलाको सशक्तीकरण र व्यापार मेलाहरुमार्फत उनीहरुका उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्दै आएको उनको भनाई छ ।
ग्रामीण प्रविधि केन्द्रका आश्मा पाख्रिन र पाक्टिकल एक्सनका मन्जरी श्रेष्ठले महिलालाई घरायसी प्रयोजन, सामुदायिक क्षेत्र, सूचना सञ्चार प्रविधिका क्षेत्र र व्यावसायिक क्षेत्रमा ऊर्जा र प्रविधिको पहुँच बढाउन सकेमा मात्र उनीहरुको सशक्तीकरण हुनसक्ने बताए ।
हरित समावेशी ऊर्जा र महिलाको आर्थिक सशक्तीकरण कार्यक्रमको सहयोगमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, कार्भे, ललितपुर, धादिङ र चितवन जिल्लामा सञ्चालन गरिएका विभिन्न क्रियाकलापहरुबाट महिलाहरुको जीवनस्तरमा आएको उनीहरुको भनाई छ ।
हरित तथा समावेशी नेपाल कार्यक्रमका प्रवन्धक ऊर्जाविद् इन्दिरा शाक्यले जबसम्म महिला आर्थिकरुपमा सशक्त हुँदैनन् तबसम्म उनीहरुको सशक्तीकरण हुन नसक्ने भएकाले विकासका हरेक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढाउन, आर्थिक स्रोतमा पहुँच राख्न र ऊर्जा एवं प्रविधिको उपयोगमा सक्षम तुल्याउन कार्यक्रमले जोड दिएको बताइन् ।
सो अवसरमा ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र वरिष्ठ निर्देशक डा पुरुषोत्तम श्रेष्ठले ग्रामीण क्षेत्र विपन्न तथा पछाडि पारिएका महिलाको विकासमा ऊर्जा र प्रविधिको पहुँच अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई अझ विस्तार गर्दै लगिने बताए ।
कार्यक्रममा ऊर्जा र वित्तीय क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महिलालाई विकासको मूलधारमा ल्याउन तीनै तहका सरकार, गैरसरकारी संघसंस्थाले गर्नुपर्ने कार्यहरुका बारेमा सुझावहरु प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्