जाजरकोट । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।
बिहान ४ बजे सुत्केरी भएकी उहाँलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनकाे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको स्वास्थ्यकर्मीले जानकारी दिएकाे मृतकका श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।
त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् ।
घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । घाइते बिसीको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्