मंसिर १४, २०८१ शुक्रबार

एक छाक पोषिलो खुवाउन ‘सामुदायिक भान्सा’अभियान



महेन्द्रनगर-दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछि केही खुला भएको अवस्थामा पनि दैनिक ज्यालादारी गरेर हातमुख जोर्न बाध्य वर्ग समुदायलाई सामुदायिक भान्सा अभियानले धेरै राहत पुगेको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले नेपाल–भारत सीमा ‘सिल’ गर्नुका साथै लकडाउन गरेपछि सीमा क्षेत्रमा मानव बेचबिखनका क्षेत्रमा निगरानी बढाउनुपर्ने अवस्था नरहेपछि माइती नेपालले कञ्चनपुर र बाँके जिल्लामा सामुदायिक भान्सा अभियान सञ्चालन गरी सुकुम्बासी, दलित, विपन्न र वादी समुदायमा पोषिलो खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको सन्दर्भमा दैनिक ज्यालादारीमा काम गर्न जानु पनि उत्तिकै जोखिमपूर्ण रहेको कलावती सार्की बताउँछिन् अर्काकोमा गएर काम गरेर ल्याएको पैसाले पेट पाल्नुपर्ने अवस्थामा रहेका आफूहरुलाई माइती नेपालले यसरी खाना खुवाउने गरेकोमा उनी निकै हर्षित छन् ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाको लालझाँडी, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकामा यस अभियानमार्फत नौ हजार ५८५ लाई पोषिलो खाना खुवाएको जानकारी दिइन् । “हामीले दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्न बाध्य अवस्थामा रहेका परिवारमा पनि महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेका छौँ । एक छाक भए पनि उनीहरुलाई पोषिलो खुवाउने उद्देश्यले गत असार १६ गतेदेखि अभियान सञ्चालन गरेका हौँ ।”

माइती नेपालकी संयोजक भट्टले भनिन्, “कम्तिमा ५६ दिनसम्म जिल्लाभरि अभियान सञ्चालन गर्ने योजना छ । त्यसपछि पनि यसको आवश्यकता र प्रभावकारिता हेरेर थप्न सकिनेछ ।” उनले हालसम्म यहाँको लालझाडी गाउँपालिकाको ठक्का निकुञ्ज पीडित शिविरमा आठ दिनसम्म भान्सा सञ्चालन गरेर दैनिक २५० जनालाई खाना खुवाइएको बताइन् ।

त्यसैगरी बेदकोट नगरपालिका–९ को निकुञ्ज पीडित शिविर र सुकुम्बासी शिविरमा पनि दुई दिन भान्सा सञ्चालन गरिरहेको थियो । त्यस्तै महाकाली नगरपालिकामा बादी बस्ती र ढकनीघाटमा गरी तीन दिनसम्म दैनिक २८० जनालाई खाना खुवाइएको माइती नेपालले जनाएको छ ।

“युएन ओमनको आर्थिक सहयोगमा बाँके र कञ्चनपुरमा अभियान सञ्चालन भएको छ”, भट्टले भनिन्, “भान्सा सञ्चालनका क्रममा आफैँ दाल, भात, हरियो साग, अचार पानीलगायतको व्यवस्था गरेर भोजन गराउने गरेका छौँ ।” उनले बन्दाबन्दीमा सुकुम्बासी र विपन्न बस्तीमा रोगभन्दा भोकले मर्ने अवस्था आएको बताइन् ।

“समुदायमै हप्तौँ बसेर खाना खुवाउने अभियानले लक्षित वर्गका नागरिक निकै खुशी भएका छन्” उनले भनिन्, “आखिर रोगसँगै लड्न पनि त पोसिलो आहार चाहिन्छ नै ।” माइती नेपालले वस्तुस्थिति हेरेर जिल्लाका अन्य शिविर र बस्तीमा समेत अभियान सञ्चालन गर्दै जाने बताएको छ । भीमदत्त नगरपालिकामा ३७ दिनदेखि यो अभियान जारी छ । भट्टले भनिन्, “यहाँ वृद्धाश्रमदेखि सुकुम्बासी, दलित बस्तीसम्म पुगेर खाना खुवाउने काम भइरहेको छ ।” रासस