दार्चुला । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिरिन् ।
गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन् । भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरुले चार महिना मात्रै काम गर्न पाए । गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन् ।
“बन्दाबन्दी भएको पनि चार महिना बढी भयो । काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन । छाक टार्न खाद्यान्नको जोहो ग¥यो, घर आउन खर्च दिएको छैन ।” उनले भनिन् , “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुला खलङ्गा पुगेका छन् ।”
दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल तर्दै खलङ्गा खुलामञ्चमा आइपुगेका उनीहरु भोकभोकै बसेका छन् । कोरोनाको त्रासका बीच उनीहरुलाई सहयोग गर्न कोही पुगेका छैनन् । ताराका श्रीमान् तिलमान शाही उनी नजिकै घाममै सुतेका थिए । छोरा खेल्दै थियो । ठूलो भारीसँगै पल्टिएका उनीहरुमा स्वदेश छिरेकामा झन् पछुतो छ । सरकारले उद्धार गर्ला भनेरै जन्मस्थान आएका उनीहरु पानीसमेत खान नपाई खुला ठाउँमा बस्न विवश छन् ।
सिञ्जा–६ कै राजीनन्दा आचार्यको भारतमा मजदुरी गर्न जाँदा छोरी प्रियङ्का चार महिनाकी थिइन् । अहिले १० महिना भएको छ । दूधे बालकसहित मजदुरी गर्न डिडिहाट पुगेका उनको अनुहार मलिन छ । जेठी छोरी दिया पाँच वर्षकी भइन् । जेठी छोरीले कान्छी छोरी हेर्ने र श्रीमान् हरिचन आचार्य र आफूले काम गर्ने गरेका उनीहरुले काम गरेको पैसा नपाएपछि घर फर्के ।
‘बूढाबूढी मजदुरी गर्न आएका थियौँ, बन्दाबन्दीले पहिला काम गर्न पाइएन, जेनतेन पाएको कामको पनि पैसा पाइएन । घरको चुलो बाल्नसमेत समस्या भएको छ’, उनी भन्छिन् ‘ घर जान आएका हौँ, तर घर कसरी जाने ? गाडीमा चढ्न सकिने अवस्था छैन । पहिले रु दुई÷तीन हजारमा पुगिने ठाउँमा अहिले रु एक लाख ६० हजार तिर्न हामी मजदुरी गरेका मान्छे कहाँ सक्छौँ ?”
उनीहरुका १८ जनाको समूहमा चार महिला छन् । कतिपय दुधेबालक छन् । स्वदेश फर्किन रु पाँच÷सात हजार बोकेर आएको भएपनि फर्कन नपाएपछि भोकभोकै घामको तापमा बसेका जुम्ला तल्लोचन्दनाथ नगरपालिका–८ का मदन विकले बताए । ‘चार महिना भारतमा काम नगरी बस्नुप¥यो । रु चार/पाँच हजार भाडा तिरेर भए त गाउँ जान सकिहाल्थौ’, उनले भने, “पूरै बस रिर्जभ गर्न कहाँबाट पैसा ल्याऔँ ।”
उनीहरु दिनभर खुला चौरमै बसेका छन् । बिहान पुल खुल्छ भने पनि साहु ठेकेदारले बिहानै धार्चुला पु¥याएको थियो । बिहान साढे १० बजेतिर पुल खुल्यो, कोरोनाका कारण पसलमा गएर किन्न दिएनन् । प्रहरीले लाइन लगाएर खुलाचौरमा राखेको छ । पानीसमेत खान नपाएको उनीहरुको गुनासो छ ।
बाध्यतामा परेका नेपालीलाई आफ्नै देशमा सरकारले दुःख दिएको उनको गुनासो छ । ‘गाउँमै रोजगारी पाएको भए दूधे बालक ल्याएर भारतमा मजदुरी गर्न जाने रहर कसको थियो र?’, उनले भने, ‘त्रिपाल टाँगेर चौरमा बसेको देखेर पनि, अहिले हामीले भोट दिएका जनप्रतिनिधि पनि उद्धार गर्न सकिँदैन भन्छन्, हाम्रो सरकार कहाँ छ ?”
कानका सुन्दरी नगरपालिका–६ का हाँसे कामीका अनुसार हरेक वर्ष मजदुरी गर्न भारतको कालापहाडसम्म पुग्ने गरेका उनीहरुलाई यस पटक भने कोरोनाका कारण काम गर्न नपाएर समस्यामा परेका हुन् ।
उनीहरुलाई गाउँ पठाउनेबारे हामीसँग केही अधिकार छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले भने, “प्रहरीलाई मात्रै टाउको दुखाइ छ । उनीहरुलाई कसरी पठाउने कहाँ राख्ने अन्योल नै छ ।” नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर शनिबार ४९ जना भित्रिएका छन् भने ४० जना भारत धार्चुला गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्