मंसिर १३, २०८१ बिहीबार

भारतमा कैँची र पट्टीकाे सहारामा उडिरहेकाे विमानमै सुत्केरी



त्यतिबेला विमानका सबै यात्रु आत्तिए, जब भारतको दिल्लीबाट बैङ्गलोरका लागि विमान उडेको आधा घण्टापछि एक चिकित्सक चाहियो भनेर विमानमा घोषणा भयो।

रियादमा प्लास्टिक सर्जनका रूपमा काम गर्दै आएका डा. नागराज सहयोगका लागि अगाडि सरे।

उनलाई सहयोग चाहिन्छ होला भनेर अर्की एकजना महिला डाक्टर पनि अगाडि सरिन् । त्यसपछि चालक दलका सदस्यले भने सात महिनाकी गर्भवतीलाई सहयोग चाहियो ।

सघाउन गएकी उनै महिलालाई त्यो जिम्मेवारी आइप¥यो किनकी उनी थिईन् भ्रूण चिकित्सा विशेषज्ञ डा. शैलजा वल्लभनेनी ।

जमिनभन्दा हजारौँ फिट माथि उडिरहेको विमानमा एक महिलालाई सुत्केरी गराएको कुरा अहिले सम्झिँदा पनि डा. शैलजा आफैँलाई पनि विश्वास लाग्दैन ।

किनकी सुत्केरी गराउने बेला विमानमा कैँची, स्यानिटाइजर र पट्टी मात्र उपलब्ध थियो।

विमानमा रहेका अरू यात्रीले नवजात शिशुका लागि आवश्यक तौलिया, प्याड र डाइपर लगायतका सामान उपलब्ध गराए।

र सुत्केरी गराउने क्रममा विमानमा रहेका प्लास्टिक सर्जन डा. नागराजले पनि डा. शैलजालाई सघाए।

सुरुमा गर्भवती महिलाले पेट दुखिरहेको बताएपछि डा. शैलजाले गर्भ तुहिएको हुनसक्ने आशङ्का गरिन्।

गर्भवती महिला शौचालयबाट निस्किरहँदा रगतका छिटा देखिएपछि उने योनिबाट रगत बगिरहेको छ वा छैन भनेर सोधिन् । ती महिलाले सुरुमा छैन भनेर बताएपनि डा. शैलजाले गर्भवती महिला नजिक पुग्दा शिशुको टाउको अलिकति बाहिर निस्किसकेको थियो।

उनले कैँची लिएर त्यसलाई निस्सङ्क्रमण गरिन् । शिशुको नाल काटेर शिशुलाई पट्टीले बेरिन् ।

‘त्यसपछि अरू यात्रीहरू विभिन्न सामानसहित सहयोगका लागि अघि सरे अनि मैले शिशुलाई सफा गरेँ र शिशु सकुशल रहेको सुनिश्चित गरेँ’, उनले भनिन् ।

यो दुईदिन अगाडिको घटना हो ।

डा. शैलजाका अनुसार विमानमा दुइटा सुई (इन्जेक्शन) उपलब्ध थियो जसको प्रयोगले योनिबाट रगत बग्न रोकियो र सुत्केरीले शिशुलाई स्तनपान गराउन थालिन् ।

‘नर्मल डेलिभरी’ नभएको भए विमानमा बच्चा जन्माउने उनीहरूसँग अर्को कुनै विकल्प थिएन। महिलालाई अस्पताल पु¥याउन विमानको आकस्मिक अवतरण गर्नुपर्ने हुन्थ्यो । विमानका चालक सञ्जय मिश्राले हैदराबादमा विमान अवतरण गर्न सकिने पनि बताएका थिए ।

‘तर शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको भन्दै मैले विमानलाई आकस्मिक अवतरण गराउन नपर्ने जानकारी गराएँ’, उनले भनिन् ।

डा. शैलजाका अनुसार विमानबाट ओर्लिएपछि सुत्केरी र शिशुलाई तत्काल अस्पताल पुर्‍याइयो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दुवैको स्वास्थ्य अहिले ठिक छ।

यो घटनाले थाहा भयो कि आकाशमा शिशु जन्माउनुपर्ने आपत्कालीन अवस्थाका लागि विमानहरूमा ‘आधारभूत प्रेग्नेन्सी किट’ राख्नुपर्ने जरुरी छ, र उनी सबै विमान कम्पनीलाई सो सुझाव दिन चाहन्छिन् ।

“त्यति बेला विवेकको प्रयोग गरेर शिशु र आमाको ज्यान कसरी बचाउन सकिएला भनेर मैले सोच्न थालेँ। र विमानभित्र जे जे उपलब्ध थिए तिनको प्रयोग गरी मैले सुत्केरी गराएँ”, उनी भन्छिन्, ‘तर यो घटनाले थाहा भयो कि विमानहरूमा यस्तो विशेष अवस्थाका लागि ‘बेसिक प्रेग्नेन्सी किट’ राख्नुपर्ने जरुरी छ ।’

डा. शैलजा बेङ्गलोरस्थित क्लाउड नाइन अस्पतालमा भ्रूण चिकित्सा विशेषज्ञ हुन् । उनी दश वर्ष महिला रोग विशेषज्ञको रूपमा काम गरेकी उनले पछि भ्रूण चिकित्सा विशेषज्ञ भएर काम गर्न थालेकी हुन् ।