नारायण ढुंगाना
१ मङ्सिर, चितवन – चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ । प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो । चितवनको नारायणगढ क्षेत्रमा प्रहरी र मानवसेवा आश्रमको संयुक्त सडक सेवाका क्रममा राति उद्धार गरिएकी सुत्केरीको मानवसेवा आश्रम चितवनमा आवश्यक उपचार गरेर राखिएको अभिभावक प्रेमप्रभा अधिकारीले बताईन ।
“यात्रु प्रतिक्षालयमा ओढ्ने कपडा पनि नभएको, झुल ओढेर सुतिरहेको अवस्थामा भेटियो, आश्रमका अभियन्ता रञ्जु लामिछानेले भने, “कष्टकर देखेपछि उद्धार गरेर ल्याएका हौँ ।” अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको आश्रमले जनाएको छ । परिवारको लाचारीपनले निर्दोष शिशुको लामखुट्टेले टोकिरहेको साहै्र दयनीय अवस्थामा भेटियो, उद्धारकर्ता मानवसेवा आश्रमका अभिभावक केशव अधिकारीले बताए ।
चार दिनकी सुत्केरी अस्मिताले आफूलाई श्रीमान्ले अर्को बिहे गरेपछि छाडेको बताईन । उनका अनुसार कवाड खोजेर दैनिक जोहो गर्दै आएकी थिईन । चारदिनअघि भरतपुर अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएपछि सडकपेटीमा आएर बस्न थालेको उनको भनाइ छ । उद्धार कार्यमा संलग्न अभियन्ता राजगोपाल श्रेष्ठले चिसो मौसममा सडकपेटीमा कष्टकर अवस्थामा झुलमा बेरिएर सुतिरहेको देखेपछि उद्धार गरिएको बताए ।
सुरुमा आउन नमानेको तर अलि राम्रो भएपछि फेरि ल्याइदिउँला भनेर उद्धार गरिएको श्रेष्ठले बताए । चितवनमा प्रहरी र आश्रमले सुरु गरेको रात्रि सडक सेवाअन्तर्गत केही दिन अघि मात्रै एक गर्भवतीको पनि सडकपेटीबाटै उद्धार गरिएको थियो । यसरी उद्धार गरिएका चारजना गर्भवतीले आश्रममै बच्चा जन्माइसकेका छन् । भरतपुरमा रहेको आश्रमले सडकमा आश्रित हुन बाध्य भएका असहाय तथा मानसिक रोगीको उद्धार पनि उपचार गरेर स्वस्थ बनाई परिवारमा मिलन गराउँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्