मंसिर १२, २०८१ बुधबार

मोटरसाइकल दाइजो नदिएको निहुँमा १३ वर्षदेखि कुटपीट



रुपन्देहीकी एक महिलालाई १३ वर्षसम्म परिवारका सदस्यबाट यातना दिएको घटना सार्वजनिक भएको छ ।

देवदह नगरपालिका–७ का देवदहका भुवन भट्टराईसँग विवाह गरेकी गीता अर्याल (भट्टराई) लाई परिवारकै सदस्यहरू मिलेर २०६४ सालदेखि निरन्तर कुटपिट गर्दै आएको खुलेको हो ।

२०६४ सालमा पाल्पा माडीबाट विवाह भएकी उनलाई भट्टराई परिवारले दाइजोको निहुँ बनाएर कुटपिट गर्दै आएको पीडितले बताएकी छन्।

पछिल्लो समय सम्पत्ति रोक्काको मुद्दालाई आधार बनाएर भट्टराई परिवारले आफूमाथि ज्यादती गरेको उनको भनाइ छ। पीडित महिलाका ससुरा हरिप्रसाद भट्टराईले ‘सामाजिक रवाफ’ देखाउँदै बुहारी गीतालाई कुटपिट गर्ने गरेको उनकै छिमेकीहरूले समेत बताएका छन्।

गीताका नन्द/आमाजुले समेत माइतीघर आएर आफूमाथि कुटपिट गर्ने गरेको उनले बताइन्।

गीतासँग २०६४ सालमा बिहे गर्ने समयमा भट्टराई परिवारले दाइजोमा मोटरसाइकलको आशा गरेपनि माइती पक्षले दिन नसक्ने बताएको थियो। उनले भनिन्, ‘दाइजो कम भयो भनी यातना दिन सुरु गरिएको हो। अहिलेसम्म पनि कुटपिट भइरहेको छ। कोठामा थुनेर पटकपटक पिटेका छन्।’

परिवारसँगै बस्दै आएकी गीतामाथि चरम हिंसा भएपछि उनी गत असारदेखि छुट्टै बस्दै आएकी छन्। कुटपिट सहनै नसक्ने अवस्थाले अर्कै घरमा बस्दासमेत परिवारका सदस्य आएर कुट्ने गरेको उनले सुनाइन्।