मंसिर १२, २०८१ बुधबार

डेढ वर्षमा टिकटकमा १० करोड फलोअर, १६ वर्षे किशोरीको कीर्तिमान



लोकप्रिय भिडिओ शेअरिङ माध्यम टिकटकमा पहिलोपटक १० करोड फलोअर भन्दा धेरै फलोअर बनाएर एक १६ वर्षे किशोरीले कीर्तिमान बनाएकी छन् ।

अमेरिकाको कनेटिकट निवासी १६ वर्षीया चार्ली डुमिलिओले टिकटक चलाउन थालेको डेढ वर्षमा उनले फलोअरको सङ्ख्या १० करोड नघाएर कीर्तिमान बनाएकी हुन् ।

केही दिनअघि यूट्यूबमा प्रकाशित एउटा भिडिओमा उनको व्यवहारका कारण उनी विवादमा परेकी थिइन्।

उनको परिवारले सञ्चालन गरेको रीयालिटी शृङ्खला ‘डिनर विथ द डुमिलिओ’ को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो।

विरोधस्वरूप ६,००,००० भन्दा बढी मानिसले उनलाई फलो गर्न छोडेका थिए।

तर क्षमायाचनासहित आफूले राम्रो व्यवहार गर्ने वाचा गर्दै उनले एउटा भिडिओ प्रेषित गरेपछि उक्त विवाद टुङ्गिएको थियो।

टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकहरूलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन्।

‘दश करोड मानिसले मलाई समर्थन गर्दैछन्… यो वास्तविक हो भनेर म विश्वास गर्न सकिरहेकी छैन’, उनले लेखेकी छन्।

धेरै प्रयोगकर्ताले जस्तै पहिलो पटक चार्लीले पनि शयनकक्षमा नाचेको व्यक्तिगत भिडिओ टिकटकमा हालेकी थिइन्।

गत वर्ष टिकटक र बाहिर पनि उनको धेरै चर्चा भयो। पाँच करोड फलोअर हुने पहिलो कीर्तिमान पनि उनले गत एप्रिलमा राखेकी थिइन्।

अमेरिकन आईडलका परिकल्पनाकार टिकटकमा नयाँ प्रतिभा खोज्दै
गत वर्ष उनले एउटा एनिमेटिड चलचित्र ुस्टारडग एन्ड टर्बोक्याटुका लागि आफ्नो स्वाराङ्कन गराइन्।

फ्याशन र सौन्दर्य प्रशाधनका विश्वविख्यात ब्र्यान्डहरूसँग उनको व्यावसायिक सम्बन्ध छ। यही वर्ष उनको एउटा पुस्तक पनि प्रकाशित हुँदैछ।

फोर्ब्सका अनुसार गत वर्ष उनले विभिन्न ब्र्यान्डसँग गरिएका सम्झौताबाट नै ४० लाख अमेरिकी डलर कमाएकी थिइन्।

यो वर्षको आरम्भतिर टिकटकमा ‘रेनगेड’ नृत्य ट्रेन्ड हुँदा उनलाई श्रेय दिइएपछि चार्ली विवादमा परेकी थिइन्।

त्यो नृत्य वास्तवमा जोर्जिआकी जालैया ह्यार्मोन नामक अश्वेत किशोरीले सुरु गरेकी थिइन्।

चार्लीले आफूले त्यो ट्रेन्ड सुरु गरेको दाबी गरेकी थिइनन्।

तर टिकटकको एल्गोरिदममा उत्पन्न समस्याका कारण जातीय पूर्वाग्रह झल्किनेगरी विवाद उत्पन्न भएको थियो। बीबीसीबाट