मंसिर १३, २०८१ बिहीबार

घरघरमा भएको शौचाललयले महिला सुरक्षा बढायो



toilet-use१२ मंसिर, सिराहा – घरघरमा सौचालय भएपछि महिलाको सुरक्षा बढेको महिलाहरुले बताएका छन् । घरमा शौचालय नहुँदा दिशा पिसाव गर्न अरुको खेत जाँदा खेतका धनीले गाली बेईज्जती गर्ने गरेको  सिरहाको इटहर्वा गाविस–५ को महेवारी सदाय टोलका महिलाहरुले जनाएका छन् । तर अहिले त्यो समस्याबाट उनीहरु मुक्त छन् ।

स्थानीय महिला परमिला सदाका अनुसार बाहिर दिशा पिसाव गर्न रातीमात्र अनुकुल हुने हुँदा रातको समयलाई नै कुर्नुपर्ने बाध्यताले एकातिर बिभिन्न बिरामी हुने समस्या थियो भने अर्कोतिर सर्पको टोकाईले ज्यानै जाने पीर थियो । उनी भन्छिन् ‘यी सव कुरा हुँदाहुँदै पनि के गर्ने भनेर उपाय निकाल्न सकिरहेका थिएनौं । यसमा नेपाल रेडक्रस सोसाईटी सिरहाका सरहरुको सहयोगले नै थोरै खर्चमा अस्थायी शौचालय बनाएर धेरै समस्याबाट जोगिन पाएका छौं ।’

सोही टोल निवासी मुकेश सदाले आफ्नी श्रीमतीतर्फ देखाउँदै घरमा शौचालय बनाएका कारण आफ्नो सुत्केरी श्रीमतीलाई सबैभन्दा बढी सजिलो भएको सुनाए । शौचालय नभएका भए शारीरिक अशक्त सुत्केरी महिलालाई बाहिर जान समेत निकै असहज हुने उनको भनाई थियो ।

उनीजस्ता हरेक सदस्यले शौचालय बनाउँदा भएको सहजताबारे बताउँदै यसमा नेपाल रेडक्रस सोसाईटी सिरहाको भूमिकाको प्रशंशा समेत गरे । स्थानीय बद्री सदाका अनुसार सरहरु पटक पटक आएर हामीलाई सम्झाउने गर्न थाले, हामीले भोगिरहेको समस्याबारे हामीलाई बुझाउन थाले र थोरै खर्चमा अस्थायी शौचालय बनाउन सिखाएर सहयोग पुरयाएको उनीहरुको भनाई थियो ।

इटहर्वा गाविस–५ को महेशवारीस्थित उक्त टोलमा करिब १५ घरधुरीमा सदाहरुको बस्ती रहेको छ भने एकसयभन्दा बढी उनीहरुको जनसंख्या छ । बस्तीमै कसैको शौचालय नहुँदा बाहिर अरुका खेतवारी र डगर जानुपरेका कारण स्थानीयको गाली र दुव्र्यवहार सहुनुपर्ने उनीहरुको बाध्यतानै थियो ।

स्थानीय बुद्धिजीवी शत्रुधन प्रसाद साह भन्छन्, ‘दतिल समुदायमा पनि मुसहर समुदाय अति बिपन्न र अशिक्षित भएकाले शौचालय र सरसफाईप्रति वेवास्ता गर्दैनै आएका थिए । कतिदिन त खेतका धनी र उनीहरुवीच यस्तै विषयमा भनाभन र झगडा समेत हुुन्थ्यो । सडकका छेउछाउमा पनि निकै फोहोर देखिन्थ्यो । बातावरणनै दुर्घन्धित हुन्थ्यो । रेडक्रसका साथीहरुले यहाँ आएर गाविसलाई खुल्ला दिशामुक्त बनाउने अभियान संचालन गरेपश्चात अहिले सवैले घरघरमै चर्पी बनाएर र प्रयोग गर्न थालेका छन् ।’ उनका अनुसार ‘सरसफाईमा समेत सुधार भएको छ ।’

मुसहर समुदाय अधिकांशको थोरै जमीनमा घर भएको घरकै आगन र पछाडिका ठाउँमा बोरा, प्लाष्टिक र बाँसका सामानले अस्थायी रुपमा शौचालय बनाउनु परेका कारण केही समस्या समेत व्यहोर्नु परेको उनीहरुको भनाई थियो । एकातिर जग्गाको र अर्कोतिर पानीको पनि उत्तिकै समस्या भएको परमिला सदायले दुखेसो गरिन् ।

‘थोरै जग्गामा घर छ, पानीका लागि नजिकमा इनार र ट्यूववेल केही छैन । एकजना छिमेक घरबाटै नै सवै परिवारले पानी ल्याएर पिउने र खाना बनाउने गरेका छौं । अव शौचालयमा पनि पानी चाहिने हुँदा पानीको त झन बढी नै समस्या भोग्नु परेको छ’, उनले भनिन् ।

स्थानीय बद्री सदाका अनुसार पहिला पहिला आफूहरुमा जनचेतनाको अभावले शौचालय बनाउनेतर्फ कसैलाई वास्ता हुन्थेन, रेडक्रसले जनचेतनाको कुरा ल्याईदियो त्यसकै प्रभावले अस्थायी रुपमा भए पनि शौचालय बनाउने काम भएको बताउँदै पक्की बनाउनका लागि आर्थिक समस्या रहेको उनले गुनासो व्यक्त गरे । शौचालयको महत्व बुझेका छौं, अवका दिनमा कसैले सहयोग गरिदिए इटाकै शौचालय बनाउने आफूहरुको रहर भएको समुदायका अधिकांशको भनाई थियो ।

तराईका जिल्लाहरुमा दलित समुदायमा अति बिपन्न र सिमान्तकृत समुदायका रुपमा रहेका मुसहर समुदायले उक्त ठाउँमा शौचालय बनाउने र प्रयोग गर्ने कार्यलाई पनि एक सफलताकै रुपमा लिदै अस्थायी शौचालयको साटो इटाको शौचालयन निर्माण र पानीको लागि सामुहिक रुपमा प्रयोग हुने गरि ट्यूववेलको व्यवस्था गर्न सकिए दीर्घकालीन रुपमै उनीहरुको समस्या समाधान हुने र सरसफाईमा सुधार आउन सक्ने अवस्था देखिन्छ ।