भारतको उत्तराखण्ड सरकारले १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाउने भएको छ । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई प्रतिकात्मक रुपमा उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री बनाउन लागिएको हो ।
२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता ल्याउन मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।
मुख्यमन्त्री भएपछि उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुने र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यत्रम छ । । सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।
तर उनको मुख्यमन्त्री पद भने आज एक दिनको लागि मात्र हुने छ । आजको उनको कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।
बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउने उद्देश्यले एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन् ।
उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन् । उनले सामाजिक सन्जालमै एक बयान जारी गर्दै भनेकी छन्, ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म एकदम खुसी छु । मैले खासगरी बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’
यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्दछ । जसमा प्रदेशका अलग अलग स्थानबाट छात्राहरुले सहभागीता जनाउँछन् र आफैंले विधानसभा सन्चालन गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्