मंसिर १३, २०८१ बिहीबार

महिला फुटबलको उपाधि सशस्त्रलाई



football२५ कार्तिक , काठमाडौ– सशस्त्र प्रहरी महिला फुटबल टिमले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा बुधबार भएको फाइनल खेलमा  सशस्त्र प्रहरी महिला फुटबल टिमले मध्यमाञ्चल महिला फुटबल टिमलाई ३–१ को गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रथम स्थान हासिल गर्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरे । उपविजेता मध्यमाञ्चल महिला फुटबल टिमले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमकी सावित्रा भण्डारीले स्कुटर प्राप्त गरिन् । उनलाई प्रधानसेनापति क्षत्रीले स्कुटरको साँचो प्रदान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट फरवार्डमा सशस्त्र प्रहरी महिला फुटबल टिमका क्रमशः जनक सिंह र सरु लिम्बू घोषित भए । त्यसैगरी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरमा मध्यमाञ्चल महिला फुटबल टिमकी निशा थोकर र अञ्जना रानामगर घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा त्रिभूवन आर्मी महिला फुटबल टिमकी सुमित्रा योञ्जन घोषित भइन् ।

नकआउटको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा मित्रराष्ट्र भारतका दुई महिला फुटबल टिम, विगतका पाँच विकास क्षेत्रका पाँच महिला फुटबल टिमलगायत तीन विभागीय टिम सहभागी भएका थिए । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा  १९ कात्तिकबाट सञ्चालन भएको ‘प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २४ कात्तिकसम्म भएको हो ।