जिल्लामा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दारसहित १८ जना मात्र महिला प्रहरी रहेका कारण जिल्लाका सबै प्रहरी चौकीमा महिला प्रहरी पठाउन नसकिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
जिल्लामा ३४ प्रहरी युनिट रहेकामा आठ युनिटमा मात्र महिला प्रहरी रहने गरेको बताइएको छ । ती युनिट पनि कतिपय सुगम र कतिपय दुर्गममा पर्दछन् । सबैलाई न्यायोचित ढङ्गले सुगम दुर्गम मिलाएर ‘रोटेसनमा’ पठाइन्छ घर्तीले भन्नुभयो ।
जिल्लाका अधिकांश युनिटमा रहेका प्रहरी ब्यारेक महिलामैत्री नभएका कारण पनि महिला प्रहरीलाई पठाउन समस्या भएको घर्तीले जानकारी दिनुभयो । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण समाजमा हुने घटनामा पीडक र पीडित दुवै महिला हुनेको मात्रा बढिरहेका कारण मौजुदा जनशक्तिले धान्न नसकेको घर्तीको भनाइ छ ।
विभिन्न गोष्ठी, सेमिनार, अनुगमनलगायतको अवसरमा जिल्लामा महिला प्रहरीको सङ्ख्या थप गर्न माग गरिएको भएपनि हालसम्म पूरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्