मंसिर १२, २०८१ बुधबार

महिलालाई हेर्ने दृष्टि



smriti-dhungana
स्मृति ढुंगाना

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयदेखि गाउँस्तरका कार्यकर्तासमेत महिला हिंसा न्यूनीकरण तथा उनीहरुको सर्वोपरि हितका लागि संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्नुपर्छ भनिरहेका छन् । तर पनि नेपालमा यसका लागि भएका पहलचाहिँ सन्तोषजनक छैन । किनकि महिला भएकै कारण हुने घटना दिनानुदिन बढ्दै गइरहेको आधिकारिक निकायकै तथ्यांक यसको साक्षी छ ।

घरेलु हिंसाले गर्दा महिला शारीरिक र मानसिक दुवैरूपमा त्यसको शिकार भइरहेका छन् । हालै सार्वजनिक एक तथ्यांकअनुसार हरेक दिन घरेलु हिंसाबाट ग्रसित महिलाको आत्मबल कमजोर हुँदै गएको पाइएको छ ।  महिलाको आत्मबल कमजोर हुनु भनेको आधा आकाश कमजोर हुनु हो । के यस्तो अवस्थामा मुलुकको स्वस्थतामाथि प्रश्न उठ्दैन ?

कुनै पनि व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक र यौनजन्य यातना दिएर दुव्र्यवहार गर्नुलाई हिंसा भनिन्छ । २१ औं शताब्दीमा विकासले सबैतिर रफ्तार लिइरहेको अवस्थामा महिला भने सुरक्षित हुन सकेका छैनन् । तत्याङ्कलाई आधार मान्ने हो भने नेपालमा हरेक वर्ष हजारौंको संख्यामा बालबालिका र महिला शारीरिक दुव्र्यवहारलगायत यौनजन्य शोषणको शिकार भइरहेका छन् । पछिल्लो समय महिलामाथि हुने गरेका बलात्कारका घटनाले सञ्चारमाध्यममा गतिलै ठाउँ पाउने गरेका छन् । त्यसमा पनि बालिका बढी प्रताडित बनिरहेका छन् । बालिकामाथि हुने दुव्र्यवहार रोक्न विभिन्न गतिविधिले प्राथमिकता पाए पनि फितलो कानुनले गर्दा पीडकहरु सहजै उम्कने गरेका छन् ।

त्यसो त महिलालाई तत्लो दर्जा दिएर, शिक्षा र सुविधाबाट वञ्चित गराएर दुःख दिने प्रचलन परापूर्वकालदेखि हाम्रो समाजमा व्याप्त छ । संस्कृति र परम्परा जोगाउने नाममा पनि युग नै परिवर्तन हुँदासम्म हाम्रो देशमा भने महिलाले दुःख पाइरहनुपरेको अवस्था छ । हिंसा घट्ने घट्ने अत्तोपत्तो कतै पनि देखिएको छैन् । हो, महिला सहनशील हुन्छन् । के त्यसो भन्दैमा अन्याय सहेर बस्न मिल्न सधैँ । अर्को महत्वपूर्ण कुरा, अन्याय सहनु पनि आफैँमा ठूलो अपराध हो ।

महिलामाथि हुने हिंसामा पुरुषको मात्र हात हुने एउटा अतिवादी सोचाइ पनि हाबी छ समाजमा । तर कतिपय घटनामा महिलाको मुख्य हात देखिन्छ । मनोविज्ञानलाई आधार मान्ने हो भने रिस र इश्र्या तुलनात्मकरूपमा महिलामा बढी हुन्छ । यसले गर्दा पनि महिला हिंसामा महिलाकै हात बढिरहेका घटनाक्रमले पुष्टि गरेका छन् । हाम्रो देशमा यतिखेतर राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख जस्ता मुख्य पदमा महिला छन् । तर पनि ग्रामीण भेगमा दाइजाको कारण आगोले जलाइएका महिलाका खबर सञ्चारमाध्यममा आउन छाडेका छैनन् । उनीहरुले न्याय पाउन सकेका छैनन् । एकल महिलाले टेकेका मन्दिर चोख्याउने चलन यद्यपि छ । अरु त अरु, राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही कारण हेलत्तो र अपमान गरियो ।

हुन त महिलाका पक्षमा धेरै अभियान र दिवस मनाइन्छन् र चलिरहन्छ पनि । तर यस्ता कार्य वा गतिविधि बिरालो बाँध्ने शैलीभन्दा खासै पृथक हुन सकेको छैन । नत्र यस्ता दिवस कैयौँ वर्ष मनाउँदा पनि किन आउन्न चेतना ? किन घट्दैन, हिंसा ? पीडित महिलाको आत्मबल बलियो बनाएर न्यायका लागि विभिन्न कानुनी सहायता उपलब्ध गराउने व्यवस्था पनि फितलो छ ।

राज्य पक्ष यस्ता कुरामा पुरै चुकेको देखिन्छ । श्रीमान्–श्रीमतीको समझदारी, सद्भाव र सम्मानपूर्वक जीवन बाँच्ने परिकल्पना हिंसाबाट तहसनहस भएका छन् । परिवारभित्र एकले अर्कालाई आदर सम्मान गर्न नसक्दा हिंसाले ठूलो रूप धारण गरिरहेको छ । हरेक दिन हिंसाको शिकार भएका महिलाका समस्या यस्ता अभियानले सम्बोधन गर्ने त के, छेउसम्म पुगेको आभाष पनि हुन सकेको छैन् । जबकि यसले हिंसाविरुद्ध आँट गरेर लड्ने महिलालाई सम्मान र प्रोत्साहन दिएर न्यायका निम्ति उत्रन हौसला प्रदान गर्न सक्नुपथ्र्यो ।

संसारभर महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न आन्दोलन भएका छन् । हाम्रो देशमा महिलामाथिको विभेदको घटना बाहिर आउँदासमेत राज्य उनलाई न्याय दिन लागिपर्नुपर्नेमा मौन रहन्छ । कडा कानुनको अभावमा महिलामाथि हिंसा गर्न पल्किएका मानसिक रोगीहरु जन्माउन उसको पनि भूमिका देखिएको छ यसर्थ । बलात्कार जस्तो घटनामा त ‘मिलाउने’ खेललाई बढ्दा जोड दिइन्छ भने अन्य हिंसामा नेपाली महिलाले के न्याय पाउलान् ख्वै ? जबसम्म यो प्रश्नको समुचित उत्तर पाइँदैन तबसम्म अन्यत्र थाहा छैन तर नेपालबाट भने महिलामाथि हुने हिंसा रोकिन दशकौँ लाग्न सक्नेमा शंका नगरे हुन्छ ।