काठमाडौं- गोरखाका २८ वर्षीय विनोद कुमार (नाम परिवर्तन) र गोरखाकै २५ वर्षीया अनिता खत्री (नाम परिवर्तन) करिब आठ वर्षदेखि काठमाडौंमा ‘लिभ–इन रिलेसनसिप’ मा थिए। औपचारिक विवाह नगरे पनि उनीहरूको सम्बन्ध पति–पत्नीको जस्तै थियो। यसबीचमा विनोद भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गए। कोरियामा रहँदा पनि विनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो। विनोदले अनितालाई नियमित रूपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने विनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे।
आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको विनोदको दाबी थियो। विनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन्। केन्द्रले समस्या समाधानका लागि पहल गरे पनि सहमति जुट्न नसकेपछि अनिताले विनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन्। अनिताले बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा विनोदको दाबी बलियो देखियो भने अनिताको पनि गल्ती देखियो। त्यसपछि अदालतले विनोदलाई धरौटीमा रिहा गर्यो। सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भए पनि यस घटनामा केटीको गल्ती देखिएकाले अदालतले विनोदलाई धरौटीमा छाडेको थियो।
महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, कालीमाटीका अनुसार काठमाडांैमा पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौती बनिरहेको छ। केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाका अनुसार लिभिङ टुगेदरमा रहनेबीच असमझदारी भएपछि उजुरी लिएर सेवाकेन्द्र आउनेको संख्या बढेको छ। ‘सुरुमा युवकयुवती आपसी सहमतिमा एकसाथ बस्दै आएको पाइन्छ तर पछि बिहे गर्ने विषयमा समझदारी नहुँदा समस्या प्रहरी हुँदै अदालतसम्म पुग्छ,’ प्रहरी निरीक्षक वाइबाले भनिन्।
काठमाडांैमा मात्र साउनयता लिभिङ टुगेदर असमझदारीमा परिणत भएका ३१ वटा उजुरी दर्ता भएका छन्। सबैजसो घटनामा लामो समयसम्म लिभिङ टुगेदरमा बसेपछि पुरुषले बिहे गर्न नमानेको भन्दै नाता प्रमाणीकरण गराइदिन तथा बिहे गराइदिन माग गरिएको छ। कतिपय उजुरी सहमतिमै टुंगिन्छन् भने अधिकांश उजुरीमा सहमति जुट्न नसकेपछि केटी पक्षले जबरजस्ती करणी आरोपमा अदालतमा मुद्दा दायर गर्ने गरेका छन्। लिभिङ टुगेदरलाई सम्बोधन गर्ने छुट्टै कानुन नभएकाले यस्ता मुद्दा अनुचित प्रभावमा वा प्रलोभनमा पारेर शारीरिक सम्बन्ध बनाएको महलअन्तर्गत अदालतमा जाने गरेको प्रहरी निरीक्षक वाइबाले बताइन्।
लिभिङ टुगेदरसम्बन्धी उजुरी लिएर आउनेमध्ये अधिकांश घटनामा महिला पीडित हुने गरेको महिला सेवा केन्द्र, कालिमाटीको अनुभव छ। केन्द्रका अनुसार लिभिङ टुगेदरमा बस्नुभन्दा पहिले पुरुषले विवाह गर्ने प्रलोभन देखाउँछन्। लामो समय सँगै बस्दा महिलाका आफन्तलाई समेत सम्बन्धबारे जानकारी हुन्छ तर पछि पुरुषले बिहे गर्न अस्वीकार गर्दा महिला सामाजिक तथा मानसिक रूपमा पीडित हुने गरेको उनको भनाइ छ।
कतिपय घटनामा पुरुषले आत्मनिर्भर महिलासँग लिभिङ रिलेसनमा बसेर आर्थिक लाभ लिने र पछि धोका दिने गरेको समेत पाइएको छ।
प्रहरी निरीक्षक वाइबा लिभिङ टुगेदरका कारण उत्पन्न समस्या समाधानका लागि जतिसक्दो छिटो ऐननियम बनाउनुपर्नेमा जोड दिन्छिन्। ‘अहिले जोडीहरूमात्र समस्या लिएर आउने गरेका नागरीक दैनिकमा खवर छ । सन्तान जन्मेपछि यस्ता उजुरी आए त्यसलाई कसरी सम्बोधन गर्ने?’, उनले समस्या औंल्याइन्।
समाजशास्त्री डा. टीकाराम गौतम लिभिङ टुगेदरको महŒव र अर्थ नबुझ्दा समस्या उत्पन्न भएको दाबी गर्छन्। गौतम भन्छन्, ‘पश्चिमाको अभ्यास हेर्दा यो सामान्य प्रक्रिया हो तर नेपालमा यसलाई बिहेको चरणका रूपमा हेर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भइरहेको छ,’ गौतमले भने। पछिल्लो समय नेपालमा आधुनिक र पश्चिमा संस्कृतिको अवलम्बन गर्ने होडबाजी चले पनि त्यसको महŒव नबुझ्दा यसले समस्या निम्त्याइरहेको उनको भनाइ छ। नेपालको सामाजिक संरचनामा भइरहेको फेरबदलका कारण विभिन्न संस्कृतिको अनुशरण भइरहेको उनको भनाइ छ। ‘सामाजिक परिवर्तनसँगै मानिस परिवारभन्दा बाहिर निस्कन चाहन्छ र नयाँनयाँ सम्बन्धको अभ्यास गर्छ, लिभिङ टुगेदर यसैको उदाहरण हो,’ गौतमले भने। नयाँ संस्कृति अवलम्बन गर्ने प्रचलनले नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व सिर्जना हुने उनको तर्क छ।
प्रतिक्रिया दिनुहोस्