धनगढी – मंगलबार बिहान साढे १० बजेतिर सहिद गोविन्द गौतमको पुर्नवास नगरपालिका-८ नमुनाटोल स्थित घरमा पुग्दा कच्ची घरको पेटीमा आमा हरिदेबी लखतरान भएर बसिरहेकी थिइन। घरमा सुनसान थियो। आएका छिमेकी पनि चुपचाप बसिरहेका थिए। आमा हरिदेवीका लागि तीन-चारजना छिमेकी महिला उनको स्याहारमा खटिएका थिए।
किरियापुत्री बसेका बृद्ध बुवा खेमलाल गौतम हिड्न नसक्ने अवस्थामा छन्। पाँच दिनदेखि अन्नपानी नखाएका उनको वृद्ध शरीर पनि उर्जाहिन भएको छ।
‘खानै मन हुँदैन, घाँटीमा गासै छिर्दैन’, किरिया बसेका खेमलालले भने। ‘औषधी लिएर आउछु भनेर गएको छोरो सहिद भएर आयो।’
टीनको छानो हालेको घरमा प्रयाप्त ठाउँ नभएर होला, आँगनमै प्लाष्टिकको वार लगाएर किरियापुत्रीको खाना पकाउने अस्थाई भान्सा बनाइएको छ। तीन भाइ छोरामध्येको माइलो, गोविन्द सबैभन्दा टाठो थिए, उनले नै छोडेर गएपछि बुवा खिमलालको सबै सपना चुडिएको छ।
‘परिवारमा टाठो त्यही थियो, अली कमाइधमाई गर्ला भन्ने आश उसैको थियो तर दुस्मनले चुडाई दिए’, खेमलालले भने। खेमलालको परिवार २०३६ सालमा बाग्लुङको मैदीखोलाबाट कञ्चनपुर झरेको हो। त्यतीबेला कञ्चनपुरमा पुर्नवासको कार्यक्रम रहेकाले, केही जग्गा पाइएलाकी भनेर तराई झरेका खेमलालले अहिलेसम्म जग्गा पाएका छैनन्।
नेपाल भारत सीमा नजिकै उनी ऐलानी जग्गामा बसिरहेका छन्। कैयौं पटक सरकारले अतिक्रमण गरेको भन्दै उनको परिवारलाई लखेटिदै गयो। तर अहिले सुकुम्बासीको छोरो गोविन्दले नै मातृभूमिको रक्षाका लागि सहादत प्राप्त गरेपछि धेरैमा सहानुभूति देखिएको छ।
उनका तीन भाइ छोरा छन्। परिवार पाल्नकै लागि भारतको महाराष्ट्र राज्यमा आपको बगैचामा काम गर्ने जेठो छोरो शवयात्राको दिन मात्रै घर पुगेका छन्। ‘कान्छोलाई, बगैँचामा काम गर्ने मालिकले विदा दिएन, बल्ल विदा दिएको छ रे, बिहीबारसम्म पुग्छकी’, खेमलालले भने।
सहिद भएका गोविन्दका १० वर्षकी छोरी आशिमा, ८ वर्षकी आकृती र २ वर्षकी आँसु गरी तीन छोरी छन्। उनकी बेरोजगार श्रीमतीको टाउकोमा तीनवटा छोरीको जिम्मेवारी आएको छ। सरकारले, उनलाई १० लाख क्षतिपूर्ति पनि दिएको छ, तर श्रीमानका हत्यारालाई कारवाही नहुँदासम्म आफू चैनसँग बस्न नसक्ने किरियामा बसेकी सहिद गोविन्दकी पत्नी लक्ष्मी गौतमले बताइन्।
‘मेरो श्रीमानलाई गोली हान्नले माफी मागोस् र उसलाई कारबाहीहोस्, अनी मात्रै मेरो आत्माले शान्ति पाउनेछ,’ लक्ष्मीले भनिन्। उनलाई तीन छोरीको पालनपोषण कसरी गर्ने भन्ने चिन्ताले अझ बढी सताएको छ। ‘आफैँ हामी सुकुम्बासी हौं, खेत बेचेर पालौंला भन्नु पनि छैन’, लक्ष्मीले भक्कानीदै थपिन्।
सबैभन्दा बढी चिन्ता आमा हरिदेबी गौतमलाई भएको छ। सुकुम्बासी भएकाले तीन वटै छोरालाई खुला चउरमा पानीको आहाल भएका बेला सिरकले छोपेर हुर्काएको स्मरण गर्दै हरिदेबी भक्कानिइन।
हरिदेवीको राज्यप्रति ठूलो गुनासो छ। उनी भन्छिन्, ‘२०३६ सालदेखि सीमाको विवाद कायमै छ, न त्यो विवाद नेताहरुले सुल्झाए न सरकारले नै, किन सरकार सीमामा आउदैन ?’ हरिदेवीले प्रश्न गरिन्। उनी भन्छिन, ‘सीमाना विवादकै कारण मैले छोरो गुमाए, अझ समस्या समाधान भएन भने अरुले पनि आफ्ना सपुतहरु गुमाउन नपरोस्, सरकारले समयमै सोचोस।’
आनन्दबजार नजिकैको पिलर संख्या २०० हराएको चार दशक भन्दा बढी भइसक्यो। नेपालीहरु अहिलेको एसएसबी क्याम्प बसेको बसई बजारको छेउसम्म नेपालको सीमाना भएको दाबी गर्छन् तर भारतीय सुरक्षाकर्मी विवादास्पद कलभर्ट नजिकैको बुढो उमराको रुखलाई सीमाना दाबी गरिरहेको छ।
सुकुम्बासीका रुपमा रहेपनि गौतमको परिवारमा देशभक्ति झल्किन्छ। देशको सीमानाका लागि नेपाली मर्दा सरकारले गम्भीरतापूर्वक नलिएको सहिद परिवारको अझ गुनासो छ। वर्षौंदेखि भारतीय सुरक्षाकर्मी, चोर डाँकाको त्रासमा बाँचिरहेका उनीहरुले अब भने सरकारले छिट्टै समाधान निकाली दिनुपर्ने माग गरेका छन्।
सहिद गोविन्दकी भाउजू पार्वती गौतम भन्छिन्, ‘सीमाना काँसम्म हो भनेर थाहा नभएकै कारण घाँस दाउरा जाने बेला हाम्रा हसियाँ, डोरी खोसिन्छन्, नेपाली चेलीमाथि दुव्र्यवहार हुन्छ, वस्तुभाउ उतै थुनिन्छन्, किन सरकारले सुन्दैन हाम्रो आवाज ?’
प्रतिक्रिया दिनुहोस्