मंसिर १३, २०८१ बिहीबार

एउटा पत्रकार महिलाको पिडा – ‘समाचार लेखिस् भने जिउँदो रहन्नस्’



Lila-Shresthaसूर्यविनायक–३ र मध्यपुर थिमि नगरपालिका–३ को सिमानामा पर्ने हनुमन्ते खोला फर्काइँदै छ भन्ने खबर शुक्रबार मध्यरातमा थाहा भयो । तत्कालै भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (एसपी), डीएसपी, नगरपालिकाका नवर्निवाचित प्रमुख लगायतलाई फोन गरेर बुझ्न खोजेंँ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठबाहेक कसैले पनि फोन उठाएनन् । प्रमुख जिल्ला अधिकारी र एसपीको त फोन स्वीच अफ नै थियो ।

रातभर ५ वटा स्काभेटर लगाएर फर्काएको हनुमन्ते खोलाको रिपोर्टिङ गर्न भनेर शनिबार बिहान करिब साढे ७ बजे निस्किएँ । घटनास्थल पुग्दा मध्यपुर थिमि नगर प्रमुख श्रेष्ठ, कार्यकारी अधिकृत कमल ज्ञवाली, नगरपालिकाका कर्मचारीसँगै मध्यपुर थिमिका बासिन्दा रातभरमा उल्ट्याइएको खोला पुरेर प्राकृतिक बहावतिरै लैजाने तरखर गर्दै थिए । उनीहरू साबेल र कोदालीले खोला पुर्दै थिए । मैले त्यहाँ भएका व्यक्तिहरूसँग सोधेँ । केही टिपोट गरेँ । फोटो र भिडियो पनि लिँदै थिएँ, एक्कासि खोला फर्काउने पक्षका व्यक्तिहरू आक्रोशित हुँदै आइपुगे । सुरुमा आउनेहरू खाली हात थिए । पछि–पछि आउनेहरूको हातमा बाँस, ढुंगा र लाठी थियो । एकैछिनमा माहोल बिग्रियो । नगरप्रमुख, कार्यकारी अधिकृत, मध्यपुर थिमिका बासिन्दा र खोला फर्काउने पक्षहरूबीच विवाद चर्कियो । हात हालाहाल भयो ।

मैले दुई पक्ष बीचको भनाभन, झडपको फोटो कैद गर्ने विचार गरेँ । केही दृश्य मोबाइलमा कैद पनि गरिसकेकी थिएँ र केही गर्दै थिएँ । खोला फर्काउने पक्षतर्फको त्यो भिडको आक्रोश एक्कासि मतिर बर्सियो । जीवनमा कहिल्यै नसुनेका र उल्लेखै गर्न नमिल्ने शब्दले गाली गरेर मोबाइल, क्यामेरा फुटाइदिने भन्दै आक्रमण गर्न खोजियो । त्यही भिडमा पत्रकार कविर राणा पनि थिए । उनी मलाई ‘तेरो र मेरो पत्रकारिता गर्ने धार अलग भयो’ भन्दै लेख्न नसकिने शब्द प्रयोग गरी नमारी छाड्दिनँ’ भनेर हातै हालुँलाझंै गरेर आक्रोशित मुद्रामा असिनपसिन हुँदै आइपुगे । मलाई आक्रमण गर्न लागेको देखेर अरू मिडियाका पत्रकारले राणालाई सम्झाए । तैपनि उनले मलाई विभिन्न अपशब्दमा गालीगलौज गरि नै रहे । समाचार प्रकाशित भयो भने जिउँदो नराख्ने धम्की दिए । राणालाई छुट्याएर लगिए पनि त्यही भिडमा आएका व्यक्तिहरूले अपशब्द बोल्दै ढुंगा, बाँसले ताक्दै ‘पहिले पनि खोला फर्काएको समाचार प्रकाशित गर्ने तैं होइनस् ?’ भन्दै पटक–पटक आक्रमण गर्ने प्रयास गरे । घटनास्थलबाट ५० मिटर पर पुगिनसक्दै खोला फर्काउने समूहले म लगायत राससका पत्रकार रमेश गिरी, फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, मिडिया एनपी डटकमका सुदीपकुमार पौडेललाई समाचार प्रकाशित भए जागिर खाइदिने र ज्यानै लिने धम्की दिइ नै रह्यो ।

घटनास्थलबाट बाहिरिँदै गर्दा मैले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई फोन गरेँ । म लगायत चारजना पत्रकारमाथि रिपोर्टिङका क्रममा दुव्र्यवहार भयो भनी मैले जानकारी गराएँ । पत्रकार महासंघ पत्रकारहरूलाई अप्ठ्यारो पर्दा साथ, सहयोग र समर्थन दिने व्यावसायिक संगठन हो । बुढाथोकीले विज्ञप्ति निकालेर आपत्ति जनाउलान् भन्ने अनुमान थियो । तर उनले ‘सचिवलाई भनेको छु’ भन्दै आलटाल गरिरहे । दिउँसो ३ बजे महासंघका सचिव कृष्ण नेपालको नम्बरबाट म्यासेज आयो, साढे ४ बजे आकस्मिक बैठकको उपस्थितिका लागि । म अफिस जानुपर्ने भएकाले बैठकमा सहभागी हुन सकिनँ । महासंघले बैठकमा कोरम नपुगेको बहाना बनाएर विज्ञप्ति निकालेन । म आफैं नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको कार्यसमिति सदस्य थिएँ । सदस्यमाथि दुव्र्यवहार हँुदासमेत महासंघले शनिबार प्रेस विज्ञप्ति निकाल्न आवश्यक ठानेन ।

मैले महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टलाई फोन गरी बिहानको घटना बताएँ । उनले पत्रकारमाथि भएको हातपात र दुव्र्यवहारप्रति खेद प्रकट गर्दै घटनाको भत्र्सना गरे । त्यो घटना स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्ने प्रयास भएको भन्दै घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरे । मैले त्यही कुरा उल्लेख गरी समाचार लेखेँ । भोलिपल्ट १० बजे जिल्ला शाखा भक्तपुरको लेटरप्याडमा प्रेस विज्ञप्ति फेसबुकको म्यासेन्जरमा आयो । तर त्यो विज्ञप्ति औपचारिकताका लागि मात्र निकालिए जस्तो थियो । विज्ञप्तिमा प्रेस स्वतन्त्रताको प्रसंगै थिएन । घटनाको विरोध होइन, त्यस्तो नगर्न ‘आग्रह’ गरिएको मात्र थियो । पेसागत हकहित र सुरक्षाका लागि भनिएको संस्था नै यसरी पत्रकारमाथि दुव्र्यवहार हुँदा सशक्त आवाज उठाउन हिचकिचाउँछ भने खोला फर्काउनेहरूको स्वर किन उँचो नहोस् त ।