मंसिर १४, २०८१ शुक्रबार

जनप्रतिनिधि युवती जो कम बोलिन,प्रतिबद्धता पुरा गरी छाडिन्



sirjana 2

काठमाडौं :  २४ वर्षीय सृजना तामाङ सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उपाध्याक्षमा विजयी भएसँगै गरेको पहिलो बाचा पुरा गरेकी छिन् । उपाध्यक्षमा विजयी भएपछि पत्रकारहरुले उनलाई सोधेका थिए तपाइ अब के गर्नुहून्छ ? तर उनले आकाश पातल केही बाँधिनन्। ठूला र चर्का कुरा पनि गरिनन्। स्मार्ट गाउँको शब्द पनि उच्चारण भएन। उनले मात्रै भनेकी थिइन् ( सञ्चार छैन पुर्‍याउँछु।)

स्थानीय तहमा १०० दिनको कार्यकाल पूरा गरिरहँदा सृजनाको सपना पूरा भएको खबर आएको छ। त्यसो त धेरैको एउटै सोच थियो उनीमाथि। यो उमेरमा जितेर के नै गर्ली र? पहिलोपटक मिडियासँग एक्सपोजर हुँदा सृजनाले भनेकी थिइन्, पाको उमेर त्यसमाथि पनि पुरुषले मात्र राजनिति गर्नुपर्छ भन्ने सोच राख्ने गाउँ हो मेरो।

१०० दिनको कार्यकालबाट उनले गतिलो जवाफ दिएकी छिन्। सञ्चार क्षेत्रबाट टाडिएको गाउँपालिकामा कान्छी उपाध्यक्षले आफ्नो पहिलो प्रतिवद्धता पूरा गरेकी छिन्। सृजनाको पहलमा आइतवार बिहानदेखि नेपाल टेलिकमको सेवा सुरु भएको छ गाउँमा। सेवा पुगेसँगै सृजनामा खुशीको सीमा छैन।
आफ्नो पहिलो काम नै सफल भएको छ। थप केही गर्ने जोश जाँगर भरिएर आएको छ,उनले भनिन्। चुनावमा जिते लगत्तै परीक्षा फर्म भर्न र संविधानमा के छ भन्ने बुझ्न हुन्निएर काठमाडौं आएकी थिइन् उनी। त्यही मेसोमा उनले आफ्नो आवश्यकता सार्वजनिक गरेकी थिइन्।

समाचार सार्वजनिक भएलगत्तै नेपाल टेलिकमका कर्मचारी उनीसँग समन्वयका लागि सक्रिय भए। उपाध्यक्ष सृजनाको दृढता र टेलिकमको अग्रसरतालाई देखेर पहिलोपोस्टले समन्वयकारी भूमिका खेल्यो। त्यसले आजबाट मूर्त रुप लिएको थियो।

सृजनाले भनिन्, टेलिफोन सेवा नहुँदा धेरै कर्मचारीले काम छाडेर जाने गरेका थिए। अब गाउँमा सहज हुने भयो।कुन गाउँमा के भइरहेको छ खबर समेत हुँदैन थियो। विपतको बेला त झनै समस्या थियो। आफूमा आत्मविश्वास र राम्रो काम गर्ने सोच भए उमेरले नछेक्ने रहेछ भन्नेमा अहिले सृजना विश्वस्त भएकी छिन्।

अवको कदम भने सडक निर्माण र शिक्षामा जोड दिने रहेको उनले बताइन्। स्थानीय तहमा जन प्रतिनिधि थोरैमात्र सक्रिय हुँदा पनि परिवर्तन् हुनसक्ने स्थापित गरेकी सृजना धेरैका लागि प्रेरणाकी पात्र बन्न सक्छिन्। पहिलोपोस्टबाट