काठमाडौ । नमस्कार, म सबिता गुप्ता , म एक किशोरी, आज म पनि रेडियो कार्यक्रम सञ्चालनको नेतृत्व लिदैछु र आफ्ना प्रश्न आफै सोध्दैछु । सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगाहर्जको बहसमुलक कार्यक्रम सवाल सरोकारको यो बिशेष भागमा तपाईलाई हार्दिक स्वागत छ ।”
आज दिउँसो यसरी रेडियोमा कार्यक्रम चलाउने सविता गुप्ता पहिलो पटक रेडियोमा बोलेकी हुन् । उनी जस्तै तीन सय किशोरीले आज एकैपटक देशभरका तीनसय सामुदायिक रडियोवाट बहस कार्यक्रम चलाए । कहिल्यै रेडियोमा बोल्ने अवसर नपाएका किशोरीहरुलाई यो अवसर जुटाइदिएको हो अन्तर्राष्ट्रिय बालबालिका दिवसले ।
असोज २५ मा अन्तर्राष्ट्रिय बालबालिका दिवसको दिन उनीहरुले नीति निर्माता, जनप्रतिनिधि, सरकारी अधिकारी र अधिकारकर्मीसँग बहस गरेका छन्। अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालबालिका दिवसको अवसरमा कहिल्यै रेडियोमा काम नगरेका तीन सय किशोरीले आफ्ना हक अधिकारबारे बहस सञ्चालन गरेका हुन् । । प्लान नेपाल इन्टरनेसनलको सहयोग र सामुदायिक रेडियो प्रसारक संघको संयोजनमा ‘म बालिका भएकीले अभियान अन्र्तगत तीन सय रेडियोबाट तीनसय किशोरीले बहस मूलक कार्यक्रम सञ्चालन गरेका हुन् ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले न्याय र समानता प्रवर्द्धनका लागि किशोरीहरुमार्फत बहस गराएको बताए । उनले भने ‘तीन सय किशोरीबाट न्याय र समानताबारे जनचेतना फैलाउन र उनीहरुको अधिकारबारे चेतना जोगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।’
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले सिक्ने र नेतृत्व लिने कार्यमा किशोरीले पनि उत्तिकै क्षमता बहन गर्न सक्छन भन्ने धारणा निर्माण गराउनका लागि रेडियो कार्यक्रममा नेतृत्वको अवसर प्रदान गरिएको बताए । कार्यक्रमको नेतृत्व लिनुअघि रेडियो मार्फत उनीहरुलाई अभिमुखिकरण तालिम दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्