‘ओहो ! हेर त त्यो केटीको पारा । छोरी मान्छे भएर नी कपाल छाटेकी छे, तिघ्रा देखिने गरी छोटो कट्टटु लगाएकी । हेर्न नी लाज लाग्ने । हाम्रो गाउँघरमा रोपाइँ गर्न जाँदा लाउँथे यस्ता कट्टटु त ।’
‘यो पनि रोपाइँ गर्न जान आँटिछ क्यारे ! ’ ‘हा हा। के रोपाइँ गर्न हुन्थ्यो, जान लागी होला नी डेटिङ ।’
एक बिहान मेरो टोलको एउटा पसलमा बसेर एक हुल महिलाहरु यस्तै–यस्तै टिप्पणी गर्दै थिए । उनीहरुको दैनिकी नै यही हो । दिनदिनै भेला भएर यसरी नै कुरा काट्छन उनीहरु । बिहान–बेलुका खाना पकाउँछन्, छोराछोरी स्कुल पठाउँछन् अनि तासको खाल जमे झैँ जम्छन् । बिदेशबाट श्रीमानले कहिले पैसा पठाउला भन्दै दिन गनेर बस्छन् ।
जागिर गर्नका लागि उनीहरुसँग पढाइ छैन । कामको लागि शिप छैन । एकठाउँमा भेला भयो, अरुको कुरा काटी दिन बितायो । मेरो टोल मात्रै होइन, नेपालका गाउँ, सहर र हरेक कुना काप्चामा समस्या यही हो । ससाना महत्वहिन कुरामा गन्थन गरेरै दिन बिताउनु आम नेपाली महिलाको नियती नै बनेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचनपछि महिलाहरुले धेरै अवसर प्राप्त गर्छन् भनेर ठाउँ ठाउँमा सुनेकी छु । स्थानीय तहमा महिलाको अनिवार्य उपस्थिति गरिएको छ ।
स्थानीय निकायको चुनावमा उठ्ने प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य रूपमा हुनैपर्ने बाध्यकारी प्रावधान संसदले ल्याएको छ । घर धन्दामा मात्र सिमित यस्ता महिलाहरुले कस्तो अवसर पाउलान त रु तिनिहरुको अवस्था कसरी सुध्रिएला रु यो एउटा बहसको विषय बनेको छ ।
अर्थात् दिनभर गन्थन मन्थन गर्दै बस्ने महिलाहरु राज्यले उपलब्ध गराएको सुविधा लिन कहिले तयार हुने ?
साच्चैँ परिवर्तन होला त समाज ? कति महिला काम गर्ने चाहाना हुदाँहुदै पनि अवसरबाट बन्चित छन् । घरयासी काममा सिमित महिलाहरुको दिनचर्यामा केही परिवर्तन होस् भन्ने मेरो चाहाना हो ।
तर मनमा खुलदुली रहिरहन्छ । ठाउँठाउँमा शिपमुलक तालिम दिइएको होला । तर ति तालिमको बारेमा कति महिला सचेत छन् भन्ने कुरा पनि ध्यान गर्न जरुरी छ । गन्थन गररेरै दिन काट्ने महिलाहरुलाई ति तालिम लिनुपर्छ भन्ने जागरण कहिले आउने ?
खासगरी शिक्षित महिलाहरुले त्यस्ता महिलालाई सँगै अघि बढाउन सक्छन् भन्ने मेरो विश्वास हो । राज्यको दायित्वसँगै शिक्षित महिलाहरुले समाजका हरेक तहका महिलाको आर्थिक, सामाजिक स्तरलाई बढाउनुपर्छ ।
स्थानीय तहको निर्वाचनमा महिलाले पाएको अवसरको सही सदुपयोग होस् । घरमा दिन काट्न गाह्रो परिरहेकी मेरी आमा, काकी, ठूली आमा, हजुरआमा सबैले अवसर पाउन भन्ने मेरो चाहाना हो । पदमा पुगेपछि पहिलो ध्यानाकर्षण उनीहरुमा परोस् ।
साना–साना कुरामा टिप्पणी गरीबस्ने, ‘कसले छोटा लुगा लगायो’ ‘कुन युवतिको कससँग प्रेम बस्यो’ जस्ता कुरामा चिन्ता गरी बस्ने महिलाहरुको जीवनशैली र चिन्तनमा परिवर्तन आउनै पर्छ ।
कसैले ‘ति कुरौटे महिलामै समस्या छ ।’ भनी टिप्पणी गर्छन् । तर ति महिला पनि यही समाजका उत्पादन हुन् । तिनीहरुको चिन्तन निर्माण हुनुमा हाम्रै पुरुषसत्तात्मक समाज जिम्मेवार छ ।
महिलाहरु खुलेर राजनीतिक, सामाजिक बिषयमा बहस गर्नुपर्नेमा, फराकिलो उद्धेश्य बनाउनुपर्नेमा भान्सामै बाँधिनुपर्ने भयो । त्यसैले पनि साना र महत्वहिन कुरामा दैनिकी काट्नु पर्ने बाध्यता बन्यो ।
आशा गरौँ, स्थानीय तहमा महिलाको अनिवार्य उपस्थितिले केही स्तर बढाउला । आगामी दिनमा पनि अरुको कुरा काटेरै दिन काट्न नपरोस् । लोग्नेको कमाइमा २ हात थाप्न नपरोस् ।
प्रतिक्रिया दिनुहोस्