काठमाडौ-वर्षौंसम्म नेपालका विभिन्न शिविरमा शरणार्थीको जीवन विताएका दशौं हजार भुटानी अहिले तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तर्गत विभिन्न पश्चिमा देश पुगेका छन्। तीमध्ये अधिकांश अमेरिका पुगेका छन्। भुटानी शरणार्थीहरूको एउटा सानो बस्ती अमेरिकाको क्यान्सस राज्यमा पनि छ।
विरानो मुलुकमा पुगेपनि आफ्ना परम्परा उनीहरुमध्ये धेरैले कायमै राखेको देखिन्छ। त्यहाँ अधिकांश भुटानी समुदायका मानिसहरुको घरको प्रवेशद्वारमा यस्तै रंगीचंगी कपडा राखेर सजाइएको देख्न सकिन्छ। अमेरिकाका विभिन्न राज्यमा गएका भुटानी आप्रवासीलाइ उनीहरूले लगाउने पहिरनका कारण सजिलै चिन्न सकिन्छ।
खासगरी परिवार नै आएका कारण बुवा आमा वा सासुससुराका अगाडि पश्चिमा लुगा लगाउन धक लाग्ने महिलाहरू बताउँछन्। क्यान्ससमा हिन्दु धर्म मान्ने अधिकांश भुटानी समुदायका सदस्यहरुको घर अगाडि तुलसीको मठ छ र उनीहरू दैनिक त्यसमा भुटान वा नेपालमा रहँदाको बेला जस्तैगरी पूजा गर्छन्।
तर पहिला हिन्दु वा बौद्धमार्गी रहेका भुटानी आप्रवासीहरू मध्ये कतिपयले अमेरिका प्रवेश गरेपछि धर्म परिवर्तन गर्ने क्रम पनि संगसंगै बढिरहेको समुदायका सदस्यहरुले बताउने गरेका छन्।
विभिन्न राज्यमा समुदायमै बसेका भुटानीहरूले खासगरी भुटानी, नेपाली र अन्य दक्षिण एशियाली मुलुकका ग्राहकलाई आकर्षित गर्ने गरि दैनिक उपभोग्य सामान, कपडा, श्रृंगार, खेलौना आदिको पसल राखेका छन्।
नेपालको शिविरमा रहँदा शिक्षिका रहेकी मुना रेग्मीले १० वर्षअघिसम्म आफ्नै घर र गाडी होला भन्ने कल्पनै नगरेकी भएपनि उनी लगायत यहाँ बस्ने महिलाहरू अहिले कार बिना जीवनयापन नै सम्भव नहुने बताउँछन्।
स्कुल वा कलेज पढ्दै गरेका किशोरीहरू अमेरिका आएपछि खेल तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय छन्। अन्य रोजगारी नगर्ने महिलाहरूले समय बिताउनका लागि घर वरपरको बारीमा भुटान र नेपालमा रहने बेला जस्तै तरकारी लगाउने गरेका छन्।साभार:विविसी
प्रतिक्रिया दिनुहोस्