बुटवल – रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्न तिलोत्तमा नगरपालिकाले छात्राका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको लागि निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो ।
रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि नगरपालिकाले सो रणनीति लिएको हो । यस कार्यका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले बताइन् ।
नगरपालिकाभित्र तीन हजार ६५० छात्राको लागि प्रतिछात्रा रु। १३६ का दरले स्यानिटरी प्याड किन्न विद्यालयलाई रकम उपलब्ध गराइएको नगरपालिकाका शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले बताए।
कतिपय छात्राले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट सङ्क्रमणसमेत हुन सक्ने भएकाले पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयले प्याडको व्यवस्था मिलाएका हुन् । यसका लागि हरेक विद्यालयले एक जना महिला शिक्षकलाई ‘फोकल शिक्षक’ तोकेका छन् ।
स्यानिटरी प्याडको उपलब्धताले छात्राहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्रबहादुर क्षत्रीले बताए । नगरपालिकाले बजेट उपलब्ध गराएपछि चालू शैक्षिक सत्रबाट नै आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको उनले बताए ।
यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।
नगरपालिकाले नगरभित्रका दुई वटा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई संघीय सरकारले उपलब्ध गराउने रकममा रु। पाँच सय थपेर दिने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुनेले नियमित स्वास्थ्य परीक्षण गराएमा प्रोत्साहन स्वरुप रु। दुई हजार पाँच सय प्राप्त गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्