आमा र नवजातशिशुको मृत्युदर घटाउन बैतडीको दोगडाकेदार गाउँपालिकाले आकस्मिक कोषको स्थापना गरेको छ ।
गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् ।
“आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर कोष खडा गरेका होऔँ” उनले भनिन् “गरीब विपन्न परिवारका लागि निकै प्रभावकारी हुने विश्वास छ ।”
यसका साथै गाउँपालिकालाई निकट भविष्यमै घरमा हुने शून्य सुत्केरी घोषणा गर्न पनि सहयोग पुग्ने उपाध्यक्ष कार्कीको भनाइ छ ।
प्रसूति व्यथा लागेकी महिलालाई पालिकाभन्दा आकस्मिक रुपमा बाहिर रेफर गर्नुपरेको खण्डमा यातायात खर्च ब्यहोर्ने गरी कोषको स्थापना गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए ।
मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कोषको स्थापना गरिएको हो”, उनले भने, “आमा र बच्चाको ज्यान जोखिमबाट बचाउन सहयोग पुग्नेछ ।”
गाउँपालिकाले कार्यविधिनै बनाएर मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको हो । कोषको लागि चालू आर्थिक वर्षमा एक लाख २० हजार रकमसमेत विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
यो वर्ष मातृ शिशु आकस्मिक कोषको लागि कम रकम विनियोजन गरिएको र अर्को वर्षदेखि उक्त कोषमा रकम थपिने बताइएको छ ।
कोष सञ्चालनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय सञ्चालन समितिसमेत गरिएको छ ।
दोगडाकेदार गाउँपालिकामा हाल आठ सुरक्षित प्रसूति सेवा केन्द्र र पाँच सुरक्षित प्रसूति सेवा एकाइबाट प्रसूति सेवा प्रदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्