त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी एक छात्राले आफूलाई राष्टिय सभामा मनोनित गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन् ।
स्थायी घर चितवन भई अहिले किर्तिपुर बस्दै आएकी तारा बरालले आइतबार आफूलाई राष्ट्रिय सभामा लैजान आग्रह गर्दै निवेदन दिएकी हुन् ।
अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताउने उनले उनले मुलुकको प्रतिष्ठित संसदको रूपमा रहेको राष्ट्रिय सभा हार्नेहरूको आश्रयस्थल बन्न लागेकोले संसदको गरिमा जोगाउनको लागि आफूलाई सांसदको रूपमा मनोनयन गर्न माग गर्नुपरेको बताइन् ।
संविधानले राष्ट्रिय सभामा मनोनयन गर्न कुनै पनि पार्टीको सदस्य बन्नुपर्ने उल्लेख नगरेको र हारेकाहरू थुप्रिएर राष्ट्रिय सभाको गरिमा नबढ्ने भएकोले आफू योग्य रहेको उनको जिकिर छ ।
नेपालको संविधानको धारा ८७ ले राष्ट्रिय सभाको सदस्यको योग्यताको बारेमा उल्लेख गरेको छ । सो धाराले राषट्रिय सभाको सदस्य बन्नको लागि नेपालको नागरिक भएको हुनुपर्ने, पैंतीस वर्ष उमेर पूरा, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने उल्लेख छ । बरालले आफूसँग यो पाँचैवटा योग्यता पूरा भएको बताएकी छन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिफारीस गरेका सो पार्टीका उपाध्यक्ष गौतम भन्दा आफू योग्य रहेको पनि उनको दावी छ ।
वामदेव गौतम जनताले मन नपराएका कारण चुनाव हारेका नेता भएको हुँदा उनीभन्दा आफ्नो योग्यता बढी भएकोले राष्ट्रिय सभा सदस्यमा दाबी गरेको समेत उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्