मंसिर १४, २०८१ शुक्रबार

सरकारको निर्णयपछि लोकसेवाले १४ हजार चार सय ९२ पदमा भर्ना लिने



सरकारले कोभिड १९ का कारण रोकिएका कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन सहमति दिएपछि लोकसेवा आयोगले १४ हजार चार सय ९२ पदका लागि भर्ना लिने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले गत आर्थिक वर्षमा रोकिएका तथा यो आर्थिक वर्षमा सुरु हुन नसकेका परिक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले भर्ना प्रकृया शुरु गर्ने भएको हो ।

गत आर्थिक वर्षमा १४ हजार चार सय ९२ पदमा अघि बढेको भर्ना प्रक्रिया रोकिएकोमध्ये सुरक्षा निकाय तथा संगठित संस्थाअन्तर्गत मात्र ११ हजार सात सय ९३ पदमा भर्ना रोकिएको थियो ।

त्यस्तै निजामतीतर्फका २६ सय ९९ पदको परीक्षा प्रक्रिया अवरुद्ध भएको थियो ।

अब भने लोकसेवाले सबै रोकिएका परिक्षा गर्ने तयारी गरेको छ । जस अन्तर्गत नेपाली सेनाले अधिकृत क्वाडेटमा एक सय ५०, प्राविधिकतर्फ ५६ तथा सैन्यमा ६ हजार ७६ पदका लागि लिखित परीक्षाको तालिका सार्वजनिक भइसकेको छ ।

त्यस्तै नेपाल प्रहरीमा चार हजार ६६ पदमा भर्ना प्रक्रियाको लागि पनि परिक्षा शुरु भइसकेको छ । नेपाल प्रहरीले इन्स्पेक्टर र असइको भर्ना प्रक्रिया अघि बढेको जनाइएको छ । त्यस्तै, सशस्त्र प्रहरी बलको पाँच सय तीन पदमा भर्ना प्रक्रिया रोकिन पुगेको थियो ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागको दुई सय ३२, नेपाल टेलिभिजनको एक सय ८७, दुग्ध विकास संस्थानको एक सय ८०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक सय ५२, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ४३ बिमा समितिको १५ र नेपाल नोटरी पब्लिकको दुई पदमा रोकिएको भर्ना प्रकृया सञ्चालन हने भएको छ ।

निजामतीतर्फ राजपत्रांकित प्रथम श्रेणी (प्राविधिक) राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका सातौँ र आठौँ तह तथा खुलातर्फको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक)का रोकिएका लिखित परीक्षा अब सञ्चालन हुने भएका छन् ।

यी मध्ये आधा सम्पन्न भइसकेका कतिपय परीक्षा सुरु गर्न सरकारले यसअघि नै सहमति दिइसकेको थियो । जसअनुसार अधिकृत, नासुको परीक्षाको तालिका समेत सार्वजनिक भइसकेको छ । सुरक्षा निकायले पनि भर्ना प्रक्रिया अघि बढाएका छन् ।