मंसिर १२, २०८१ बुधबार

साँसदले नै गरे महिलाको चरित्रहत्या, माफी माग्न रेखाकुमारीको सुझाव



काठमाडौं – जनता समाजवादी पार्टीका नेता एवं सांसद अनिल झाले महिलाको चरित्रहत्या गरेको भन्दै नेकपाकी सांसद रेखाकुमारी झाले तुरुन्त माफी माग्न भनेकी छन् ।

अनिल झाले सार्वजनिक रुपमा श्रीमान विदेश गएका महिलाप्रति लक्षित गरेर अपमानजनक शब्द बोलेको भन्दै रेखाकुमारीले तुरुन्त माफी माग्न सुझाएकी हुन् ।

नेता झाले रौतहटको यमुनामाई गाउँपालिका–२ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ‘वैदेशिक रोजगारीमा गएकाहरुले कमाएर घरमा पठाउँदा उनीहरुका श्रीमती फिल्म हेर्दै पैसा सकाएर पर पुरुषसँग पोइल जान्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

साँसद झाले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक रुपमा महिलामाथि अपशब्द बोलेका अनिलाई माफी मागेर महिलाप्रति सम्मान देखाउन आग्रह गरेकी छन् ।

अनिल रौतहट–१ बाट निर्वाचित सांसद हुन् भने रेखाकुमारी नेकपाकी समानुपातिक तर्फकी सांसद हुन्।

‘सम्पूर्ण महिला दिदीबहिनीको चरित्र हत्या गरेको इज्जत प्रतिष्ठालाई खुला मञ्चबाट धब्बा बोलेकोले यथाशीघ्र आम रुपमा माफी माग्नु पर्दछ’, उनले भनेकी छन् ।