मंसिर १४, २०८१ शुक्रबार

न्यूनदृष्टियुक्तका लागि छात्रावास बनाउन जापानी अनुदान



 

काठमाडौँ– कागेश्वरी मनहरा नगरपालिकामा न्यूनदृष्टियुक्त छात्राका लागि छात्रावास भवन निर्माण गर्न जापान सरकारले रु एक करोड १४ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापानी राजदूतावास र नेपाल नेत्रहीन सङ्घबीच आज हस्ताक्षर भएको हो । दूतावासका कार्यवाहक राजदूत योसियोका युजु र सङ्घका अध्यक्ष रमेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको जापानी दूतावासले जनाएको छ ।

देशका विभिन्न भागबाट उच्च शिक्षाका लागि राजधानी आएका न्यूनदृष्टियुक्त छात्रालाई सङ्घले छात्रावासको व्यवस्था गर्दै आएको छ । विद्यार्थीको बढ्दो सङ्ख्यासँगै मौजुदा छात्रावास भवन आवासका लागि पर्याप्त नभएकाले नयाँ भवन बनाउन जापानले अनुदान प्रदान गरेको हो ।

यसैबीच जापानी राजदूतावासले कीर्तिपुरस्थित आँखा अस्पतालमा मधुमेहका बिरामीको नेत्र परीक्षणका निम्ति आवश्यक पर्ने उपकरण जडान गर्न रु एक करोड ८३ लाख अनुदानस्वरुप प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा कार्यवाहक राजदूत युजु र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले आजै हस्ताक्षर गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।