म्यानमार । म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेतृत्वको पार्टी नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ ।आइतबार भएको निर्वाचनबाट सत्तारुढ दल एनएलडीले प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ ।
४२५ सदस्य रहेको तल्लो सदनमा सूचीको पार्टीले ३२० भन्दा बढी सिट ल्याएको छ। यस्तै, २१७ सिटको माथिल्लो सभामा १६० भन्दा बढी सिट पनि एनएलडीले प्राप्त गरेको छ। मतपरिणामको आधिकारिक घोषणा मंगलबारसम्म हुने बताइएको छ।
निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदबार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो । मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सुकीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो ।
म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सुकीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार सञ्चालन गर्दै आएको थियो ।
अहिलेको निर्वाचनमा विपक्षीहरुको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुकीकै पार्टीले जित्ने पूर्वानुमान गरिएको थियो । सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उनी म्यानमारमा लोकप्रिय रहेकी छिन् । उनले स्टेट काउन्सिलरका रुपमा सरकार संचालन गरेकी छिन् ।
उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्