काठमाडाैं – व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि उद्योगले डण्डीको मूल्यमा प्रतिकिलो रु चार घटाएका हुन् ।
यसअघि भ्याट बाहेक उद्याेगबाटै ८१ रूपैयाँ मूल्य लिँदै आएका लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्य घटाएर नयाँ मूल्य रु ७७ कायम गरेकाे जनाएका छन् ।
फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । “हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उनलेले भने ।
हाल बजारमा डण्डीको बजार भाउ कम्पनी अनुसार फरक छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो।
विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनम समेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए ।
हाल अन्तर्राष्ट्रिय रुपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् ।
पछिल्लो समय विभागले उपभोक्ताले मूल्य बढेको भन्दै धेरै गुनासो गरेका डण्डी, सिमेन्ट, खाने तेल तथा औषधिजन्य क्षेत्रमा अनुगमन गर्दै आएको छ । यसअघि विभागले खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालित दुई उद्योगलाई कारवाही गरेको थियो । बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि अन्नपूर्ण भेजिटेबल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन/तीन लाख जरिवाना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्