आश्विन ३०, २०८१ बुधबार

२९औ विश्व स्तनपान सप्ताह:आमाहरुलाई कोशेली



गुल्मी ।गुल्मीको गुल्मीदरवार गाउँपालिकाले स्तनपान गराइरहेका ९ जना आमाहरुलाई कोशली वितरण गरेर स्तनपान सप्ताहको शुभारम्भ गरेको छ । २९औ विश्व स्तनपान सप्ताह २०२१ को शुभारम्भ गर्दै गाउँपालिकाले बच्चालार्ई दुध चुसाइरहेका ९ जना आमाहरुलाई सम्मान गर्दै कोशेली दिएको हो ।

स्तनपानको सरक्षणका लागि गर्भावस्थादेखि बच्चा २ बर्षको नहुदाँ सम्म पोसिलो खानामा बिशेष जोड दिनुपर्ने गुल्मीदरवार गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारिले बताइन् । उनले पोसिलो खानाका कारणले गर्दा बच्चाको शारिरिक वृद्धि विकास हुनुका साथै दिमागको समेत पूर्णरुपमा विकास भइ तिक्ष्ण वौद्धिक क्षमताका बालवालिका हुने बताइन् । भण्डारीले उनीहरु पछि राष्ट्रका कर्णधार बालबालिका हुने हुदाँ स्तनपानलाइ जोड दिनुपर्ने औल्याइन्।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले समृद्ध गाउँपालिका,सुखी नागरिक बनाउने गाउपालिकाको लक्ष्य अनुसार मातृ तथा शिशु स्वास्थ्यलाई ध्यान दिदै गाउँपालिकाले कस्तो छ आमा कार्यक्रम लगायतका कार्यक्रमहरु अगाडि सारेको बताए ।

उनले बच्चालार्ई स्तनपान गराउदा मायाँ ममता सहित बिशेष समय दिएर दुध चुसाउँदा बच्चामा पोषिलो तत्व पुग्नुका साथै उनिहरुको शारिरिक तथा मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बताए । पाण्डेले स्तनपानमा आसन र सम्पर्क सहि हुनुपर्ने औल्याँउदै स्तनपान सम्वन्धि जनचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले स्तनपानको महत्वका विषयमा जानकारी दिदैँ वच्चा जन्मने वित्तिकै खुवाउने पहेलो विगौती दुध बच्चाको लागि पहिलो खोप सरह हुने बताए ।

उनले बच्चा जन्मेको १ घण्टाभित्र आमाको दुध चुसाउनु पर्ने, बच्चा ६ महिना नपुग्दा सम्म आमाको दुध मात्र चुसाउनु पर्ने र ६ महिना पुगेपछि पनि थप आहारको साथमा आमाको दुध नियमित खुवाइरहनुपर्ने बताए । अर्यालले वच्चालाई स्तनपान गराउँदा आसन र सम्पर्क सहि तरिकाले मिलाउनु पर्ने सुझाव दिए ।

उनले बच्चालार्ई  शारिरिक मानसिक तथा सामाजिक बृद्धि विकासको लागि स्तनपानको धेरै महत्व रहेको जानकारी दिए । अर्यालले आमाको दुधले बच्चालार्ई रोग बिरुद्ध प्रतिरक्षा शक्ति समेत बढाउने हुदाँ स्तनपानको फाइदा बच्चा र आमालाइ मात्र नभई परिवार समुदाय र राष्ट्रकै लागि महत्वपूर्ण रहेको बताए । ।