काठमाडौं । अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा दोषी ठहर्याएर अदालतले अढाई वर्षको जेल सजाय सुनाएकै दिन क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध उस्तै प्रकृतिको जाहेरी पर्यो । यी दुई प्रकरणले अहिले सामाजिक सञ्जाल हल्लाइरहेको छ ।
नवलपुर जिल्ला अदालतले जाहेरीकर्ताले दाबी गरेजस्तो उनीमाथि पल शाहले जबरजस्ती करणी नगरेको ठहर्याएको छ । यद्यपि, उमेर नपुगेकी किशोरीसँग यौनजन्य क्रियाकलाप गरेको भन्दै उनलाई जेल सजायका साथै १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको हो ।
बलात्कार र यौन दुरुपयोग धेरै फरक कुरा हुन् । बलात्कार भनेको अर्को व्यक्तिको सहमति बेगर जबरजस्ती राखिने यौन सम्पर्क हो । ‘दुरुपयोग’ ले चाहिँ ‘सेक्स’ बाहेकका अन्य यौनजन्य क्रियाकलापलाई संकेत गर्छ । यदि पल र जाहेरीकर्ताबीच शारीरिक सम्बन्ध भएको निष्कर्ष अदालतले निकालेको भए त्यो स्वतः कानूनी रुपमा बलात्कार मानिन्थ्यो, किनकि जाहेरीकर्ता उमेरले नाबालिग हुन् ।
१८ वर्षमुनिका किशोरी र बालिकासँग सहमतिमै राखेको सम्बन्धलाई पनि कानूनले बलात्कार मान्छ । प्रहरीले जनाएअनुसार सन्दीप लामिछानेको घटनामा पनि जाहेरीकर्ता नाबालिग हुन् । त्यसैले यदि उनले सन्दीपसँग आफ्नो शारीरिक सम्बन्ध रहेको मात्रै पुष्टि गरे पुग्छ । यदि, दुवैको सहमतिमा वा किशोरीकै आग्रहमा सम्बन्ध भएको थियो भने पनि कानूनले सन्दीपलाई ‘बलात्कारी’ नै मान्छ ।
तर, यदि शारीरिक सम्बन्ध रहेको पुष्टि गर्न सकिनन् वा पछि बयान फेरिन् भने सन्दीप निर्दोष साबित हुन सक्छन् । जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यतिञ्जेलसम्म ‘आरोपी’ को छवि धुलिसात भइसकेको हुन्छ । यदि, अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दाग सहजै पुछिँदैन । उनको क्रिकेट करिअर पनि बिथोलिइसकेको हुन्छ ।
यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहसनहस बनाउन पर्याप्त छ । यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भरपाई सम्भव छैन । यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ ।
बलात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिचकिचाउन् र उनीहरूको इज्जतमा दाग नलागोस् भनेर कानूनले यस्तो प्रबन्ध गरेको हो । तर, आरोपी पुरुषका हकमा भने निजको पहिचान खुलाउन नमिल्ने कुनै कानून छैन । अझ कोही सार्वजनिक रूपमा चर्चित व्यक्तिविरुद्ध जाहेरी पर्यो भने त प्रहरी आफैँ उत्ताउलिएर मिडियावाजी गर्न तम्सिन्छ । फोटो र वास्तविक नाम नै सार्वजनिक गरिन्छ ।
यसलाई लिएर पनि प्रश्नहरू उठ्न थालेका छन् । यदि अभियोग प्रमाणित नहुँदासम्म आरोपीको पनि पहिचान गोप्य रहनुपर्ने कानूनी प्रावधान भइदिएको भए सायद धेरै निर्दोषहरू डामिनबाट जोगिन सक्थे । निर्दोष ठहरिएपछि शिर उँचा गरेर हिँड्न सक्थे । तर, पहिल्यै बदनामी खेपिसकेपछि अदालतले सफाइ दिए पनि त्यो प्राविधिक मात्रै हुन्छ ।
अझ पब्लिक फिगरका हकमा त पैसा र पहुँचको बलमा फैसला प्रभावित तुल्याएको बनिबनाउ आरोप लाग्छ । पल शाहको घटनामा सबैजसो कुराहरु बाहिर आइसकेका छन् । सन्दीपको हकमा चाहिँ धेरै कुरा आउन बाँकी छन् ।
अहिलेसम्म मिडियामा आएका घटना विवरण एकपक्षीय हुन् । यस विषयमा प्रहरी अनुसन्धानले नै सबै कुरा निर्क्याैल गर्नेछ । अहिल्यै उनलाई दोषी वा निर्दोषिताको प्रमाणपत्र भिराउन हतार गरिनु हुँदैन । यदि अनुसन्धानबाट दोषी ठहरिए भने कानून बमोजिम कारबाही भोग्नुपर्ने छँदै छ । – नेपाल प्रेसबाट
प्रतिक्रिया दिनुहोस्