मधेश प्रदेशको प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फका ६४ सिटमध्ये जम्मा ४ जना महिला निर्वाचित भएका छन् । प्रत्यक्ष निर्वाचनका लागि दलहरुले महिलाहरुलाई उम्मेदवार बनाउन कन्जुस्याई गरेपछि ६४ सिटमा जम्मा ४ महिला निर्वाचित भएका हुन् । अहिले जित हासिल गरेका पनि यसअघि प्रदेश सांसद थिए ।
प्रदेशसभामा महोत्तरीबाट तीन र सर्लाहीबाट एक जना महिला निर्वाचित भएका छन् । सर्लाही–१ को २ बाट नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली १३ हजार ३ सय १ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार शान्तिकुमारी लामा थिइन् । लुङ्गेलीले यसअघि पनि सर्लाहीको सोही क्षेत्रबाट प्रदेशसभामा जितेकी थिइन् । नेकपा विभाजन भएपछि प्रदेशसभामा नेकपा एसकी प्रमुख सतेचक बनेकी उनी प्रदेशसभा बैठकमा बढी उपस्थित हुने सांसद पनि थिइन् ।
यस्तै, महोत्तरी–१ को १ बाट एमालेकी शारदादेवी थापा निर्वाचित भएकी छन् । थापा यसअघि पनि प्रदेशसभाकी निर्वाचित सांसद थिइन् । प्रदेश मामिलाका विभिन्न समितिमा काम गरेकी उनले प्रदेशसभामा जनजीविकाका सबालमा आवाज उठाउँदै आएकी थिइन् । एमाले मधेस प्रदेशमा ठूलो दल बनेपछि थापालाई प्रदेशसभामा उपल्लो जिम्मेवारी दिइने एमालेभित्र चर्चा छ । थापाकै क्षेत्रबाट चुनाव लडेकी राप्रपा नेपालकी रंगिता कर्णले भने २ सय ७९ मत मात्र ल्याइन् ।
महोत्तरी–२ ९२० बाट स्वतन्त्र उम्मेदवार बनेकी सुरिताकुमारी साह ८ हजार ५ सय ६८ मत ल्याएर विजयी भएकी छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गरिन् । यसअघि उनी त्यही क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सांसद थिइन् । गठबन्धनका कारण टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । साह सूचना तथा सञ्चार राज्यमन्त्रीसमेत बनेकी थिइन् । साहकै क्षेत्रबाट उम्मेदवारी दिएकी राप्रपा नेपालकी उम्मेदवार संगीतादेवी पाण्डेयले भने न्यून मत ल्याइन् ।
महोत्तरी–३ को २ बाट लोसपाकी रानी शर्मा तिवारी प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएकी छन् । उनले स्वतन्त्र उम्मेदवार उज्जलकुमार झालाई हराइन् । महिलालाई राजनीतिमा अवसर दिनुपर्ने वकालत गर्ने तिवारी महिलाको सवाल र मुद्दामा पार्टीभित्र पनि संघर्ष गर्ने नेतृ हुन् । प्रदेशमा उम्मेदवारी दिएका अन्य महिला उम्मेदवारले भने सम्मानजनक मतसमेत ल्याउन सकेनन् । महोत्तरी–२ को १ बाट नेकपा एसकी उम्मेदवार मन्जुकुमारी यादव ६ हजार २ सय ५१ मत ल्याएर पनि पराजित भइन् । उनलाई लोसपाका जयनुल राइनले पराजित गरे । उनी यसअघि प्रदेशसभामा समानुपातिकबाट सांसद थिइन् ।
प्रतिक्रिया दिनुहोस्