मंसिर १२, २०८१ बुधबार

नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोषमा २५ लाख



काठमाडौं – ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपश्चात उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रकमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवससमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामको लागि ग्लोबल आइएमई बैंकको योगदान अमुल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे ।

महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैैंकलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रेहेको समेत जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस किसिमका आर्थिक सहयोगहरु प्रदान गरी आम नागरिक तथा समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।