मंसिर १२, २०८१ बुधबार

अब सामाजिक सुरक्षा काेषले ५ लाख उपचार खर्च व्यहाेर्ने



काठमाडाैं ।  सामाजिक सुरक्षा कोषले याेगदानकर्ताला ५ लाख सम्म उपचार खर्च व्यहाेर्ने भएकाे छ । सातौं सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको लागि ५ लाख सम्मको उपचार सुविधा दिने घोषणा गरेका हुन् ।

घोषणा अनुसार अब कोषमा योगदानकर्ता तथा उसको श्रीमान वा श्रीमतीका साथै छोराछोरीले १ लाख देखि अधिकतम १० लाख सम्म खर्च लागेमा कूल खर्चको ५० प्रतिशत रकम कोषले व्यहोर्ने भएको हो । ‘आइपिडी (अस्पतालमा भर्ना भएर गरिने उपचार) सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो । युनिर्भस हेल्थ कभरेजको लागि यो असाध्यै महत्वपूर्ण कदम हो,’ निर्देशक नेपालले भने ।

यसअघि ओपिडी (अस्पताल भर्ना नभइ हुने उपचार) को हकमा वार्षिक २५ हजार र आइपिडी (अस्पतालमा भर्ना भएर गरिने उपचार) मा ७५ हजार गरी जम्मा १ लाख रुपैयाँसम्मको उपचार सुविधा कोषबाट प्राप्त हुने व्यवस्था थियो । तोकिएको यो खर्चमा कोषले ८० प्रतिशत र सम्बन्धित योगदानकर्ताले २० प्रतिशत रकम तिरे पुग्ने व्यवस्था थियो ।

कोषका निर्देशक उत्तम नेपालका अनुसार उपचार भने कोषले सुचिकृत गरेका अस्पतालमा गराउनु पर्नेछ भने शुल्कको दर पनि कोषले तोके अनुसार हुन्छ ।

नयाँ सुविधा अनुसार अब सामाजिक सुरक्षा कोषमा आवद्ध भएका व्यक्तिका श्रीमान् वा श्रीमती तथा छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने भएका छन् । यसअघि कोषमा आवद्ध भएका व्यक्तिका श्रीमान वा श्रीमतीले मात्रै स्वास्थ्य सुविधा पाउने व्यवस्था थियो ।