काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नवनिर्वाचित वडा अध्यक्ष रोजिना श्रेष्ठले महानगरपालिका प्रमुख बालेन्द्र(बालेन) शाहसँग समन्वय गरेर अघि बढ्ने बताएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहमा निर्वाचित एक्ली जनप्रतिनिधि श्रेष्ठले वडाध्यक्ष पदको शपथ ग्रहण गरेपश्चात् मंगलबार रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘विकास गर्नका लागि आएको हो । महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने हो । महानगरपालिकासँग असल व्यवस्थापकीय कार्यमा समन्वय गरेर म अगाडि बढ्छु।’
उनी मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । रास्वपाको इतिहासमा पहिलो पटक वडाध्यक्ष बनेकी उनले पुराना दलबाट मान्छे वाक्क दिक्क भएकाले वडा नम्बर १६ ले आफूलाई रोजेको बताइन् ।
‘पुराना दलबाट दिक्क हुनुभएको छ । नयाँ आएर मात्र केही हुन्छ भन्ने आम जनतामा सोच भएकाले उहाँहरूले मत परिवर्तन गर्नुभयो र म माथि भरोसा गर्नुभयो‚’ उनले भनिन् ।
उनले आफूलाई जिताउने आम मतदाताको मत खेर जान नदिने भन्दै सधैँ जनताको सेवा गर्ने र सबैको समस्या समाधान गर्नका लागि प्रयास गर्ने बताइन् ।
‘टोल अनुसार फरक फरक समस्या छ, उहाँहरूसँग टोलटोलमा बसेर छलफल र संवाद गर्छु र अध्ययन पश्चात् उहाँहरूको समस्या समाधान गर्दै जानेछु‚’ उनले भनिन् ।
विगतमा कांग्रेसले जित्ने काठमाडौँ-१६ मा यस पटक उनले बाजी मारेकी हुन् ।
उपनिर्वाचनमा २९०२ मत सहित उनले जित हासिल गर्दा नेकपा एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाएका थिए ।
कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएको निर्वाचन आयोगले आफ्नो जारी गरेको अन्तिम मत परिणाममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्