काठमाडाैं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्षसम्म हत्यारा पत्ता लगाउन नसकेकाे प्रहरीले फरक ढंगबाट अनुसन्धान थालेकाे जनाएकाे छ । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालि नयाँ कोणबाट फेरि अनुसन्धान गर्ने ह्युमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान थालिएको हाे ।
‘यसअघि गठन भएका समितिहरूको अनुसन्धान प्रतिवेदन अध्ययन र अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट अनुसन्धान गर्न लागेका छौं,’ प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले भने ।
साथीको घरमा पढ्न जान्छु भनेर २०७५ साउन १० मा घरबाट निस्केकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त नजिकैकाे निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।
६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो । यो बीचमा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ ।
यसअघि गठन भएका सबै समितिले बुझाएको प्रतिवेदनको सार खिच्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी दीपक थापालाई दिइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, ‘सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूको नेतृत्वमा यसअघि पेस भएका प्रतिवेदन अध्ययन हुँदैछ ।’
यसअघि गठित विज्ञ समितिले पनि प्राविधिक पद्धतिबाट मात्रै अनुसन्धान सम्भव नदेखिएको निष्कर्ष निकालेको उल्लेख गर्दै अधिकारीले भने, ‘पहिलेका प्रतिवेदनलाई पनि आधार मानेर ह्युमन इन्टेलीजेन्स विधिबाट अनुसन्धान अघि बढाउँदै छौँ ।’
यसअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २०८१ असार ३० मा भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’ अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताउने गरेका छन् ।
कञ्चनपुरकै नेता रमेश लेखक अहिले गृहमन्त्री छन् । यसअघि उनले समेत पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै सरकारकाे आलोचना गरेका थिए । तर अहिले अनुसन्धान गर्ने जिम्मेवारी निकायमै उनै लेखक पुगेका छन् । तर हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्