फाल्गुन २४, २०८१ शनिबार

दिल्लीको मुख्यमन्त्री महिला, सिंह वा ‘पूर्वाञ्चली’ हुन सक्ने अड्कलबाजी



काठमाडौँ — दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ७० मध्ये ४८ सिट जितेर २७ वर्षपछि पुन: सत्तामा फर्कि‌दै छ । तर निर्वाचन नतिजा सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नयाँ दिल्लीले नयाँ मुख्यमन्त्री भने पाइसकेको छैन ।

२७ वर्षपछि सत्तामा फर्किएको भाजपाले नयाँ सरकार गठनको तयारी थाले पनि मुख्यमन्त्रीको औपचारिक नाम भने घोषणा गरिसकेको छैन । भाजपा सांसद बाँसुरी स्वराजले भारतीय सञ्चारमाध्यमलाई बताएकी छन्, ‘मुख्यमन्त्रीको चयन शीर्ष नेतृत्वले गर्नेछ ।’

हिन्दुस्तान टाइम्सले पनि भाजपा नेतालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणबाट फर्केपछि मात्रै शपथग्रहण समारोह तय हुने जनाएको छ । प्रधानमन्त्री मोदी फेब्रुअरी १५ मा स्वदेश फर्किने कार्यक्रम छ । भाजपाले कसलाई मुख्यमन्त्री बनाउनेछ भन्नेबारे अड्कलबाजी भइरहे पनि निश्चिय भने भइसकेको देखिन्न ।

इन्डियन एक्सप्रेसले भाजपा नेतृत्वले आरएसएसको सिफारिसमा जो पर्छ, उही मुख्यमन्त्री बन्ने उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले भने मुख्यमन्त्रीको विषयमा दलभित्र छलफल तीव्र बनिरहेको उल्लेख गरेको छ । यसपटक पार्टीले आफ्ना नवनिर्वाचित विधायकहरूमध्येबाट मुख्यमन्त्रीमा महिला चयन गर्न सक्ने सम्भावना रहेको पनि समाचारमा उल्लेख छ ।

उक्त समाचारमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै सिख नेता वा महिलामध्येबाट एक जना छन‌ोट हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

मध्य प्रदेश, राजस्थान र ओडिसाका अघिल्ला चुनाव हेर्दा पार्टी नेतृत्वले ठूलो घोषणा गर्नुअघि आफ्नो रणनीति गोप्य राख्ने प्रवृत्ति यसपालि दिल्ली विधानसभा चुनावपछि पनि कायमै राखेको देखिएको छ ।

दलभित्र अहिले भाजपाको महिला विभागकी भाइस प्रेसिडेन्ट रेखा गुप्तादेखि आम जनता पार्टीका सौरभ भारद्वाजलाई चुनाव हराउने शीखा रोयदेखि पूर्वमन्त्री स्मृति इरानी र सुष्मा स्वराजकी छोरी वंनसुरी स्वराजसम्मका नाम चर्चामा छन् ।

अधिकांश भारतीय मिडियाले भाजपाले महिला वा जातीय समीकरण मिलाउने हिसाबले मुख्यमन्त्रीको चयन गर्ने सम्भावना बढी रहेको औंल्याएका छन् ।

भाजपाका केही नेताहरूले नयाँ मुख्यमन्त्री निर्वाचित भाजपा विधायकहरूमध्येबाट चयन हुनुपर्ने बताइरहेका छन् । नयाँ मुख्यमन्त्री महिला, सिंह वा ‘पूर्वाञ्चली’ हुन सक्ने सम्भावना रहेको अड्कलबाजी पनि भइरहेको छ।

एकथरीले भने मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवाललाई पराजित गर्ने प्रवेश बर्मादेखि रमेश भदौरी, भाजपा सांस‌द मनोज तिवारीदेखि कपिल मिश्रसम्मको नामबारे अड्कलबाजी गरिरहेका छन् ।